सेयर बजारमा ‘फ्रड’बाट कसरी बच्ने ?
धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि सर्वसाधारणबाट राय सुझाव माग गर्दै एक वाक्यको सूचना जारी गरेको छ । सूचनामा भनिएका कुरामा सुझाव पाए नेपालको सेयर तथा वस्तु बजारमा कायापलट गर्न सक्ने देखिन्छ। जुन वास्तविकताभन्दा पनि बजारमा छर्न खोजेको भ्रम हो ।
नीति तथा कार्यक्रम बनाउँदा विगतका नीति तथा कार्यक्रम र सरोकारवालाहरुका राय सुझावको कार्यान्वयनको मूल्यांकन हुनुपर्छ । सर्वसाधारण वा सरोकारवालासँग सुझाव माग्नु सकारात्मक हो । तर, निष्पक्ष तरिकाले सुझाव कार्यक्रममा समावेश हुने र त्यसको कार्यान्वयन हुने कुरामा विश्वास छैन ।
धितोपत्र बोर्ड पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक हो । बोर्डको दायित्व लगानीकर्तालाई सुसूचित गर्नु, शिक्षित गर्नु र उनीहरुको हितको रक्षा गर्नु पनि हो । लगानीकर्ताको हितको रक्षा गर्ने सम्बन्धमा बोर्डले २०७९ फागुन १५ मा वस्तु विनिमय बजार सम्बन्धमा एउटा सूचना जारी गर्यो ।
सूचनामा ‘अनुमति प्राप्त नगरी वस्तु विनिमय बजार र त्यससँग सम्बन्धित व्यवसाय नगर्ने-नगराउने’ भन्ने उल्लेख छ । नेपालमा हालसम्म कसैले पनि वस्तु विनिमय बजार र त्यससँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति नदिएको भनिएको छ । तर, कसैले अनुमति प्राप्त गरेको छ या छैन भन्ने कुरा कहाँ र कसरी जाँच गर्ने भन्ने स्पष्ट कुनै विधि वा प्रविधि छैन ।
सेयर बजार, बैंकिङ, बिमा, विदेशी विनियम र क्रिप्टो जस्ता कारोबार पैसासँग सम्बन्धित भएकाले यी काम सम्बन्धित निकायबाट अनुमति प्राप्त संस्था वा व्यक्तिबाट मात्र गरिनुपर्छ भनिन्छ किनकि पैसासँग सम्बन्धित कारोबारमा मानिसलाई झुक्याएर लोभ लालच देखाई फसाउने र नोक्सान पुर्याउने जस्ता फ्रड काम धेरै हुन सक्छन् । यस्ता काम संसारमा व्यापक रुपमा बढ्दै पनि गएका छन् ।
क्यानडामा सन् २०२१ को तुलनामा २०२२ मा ४० प्रतिशतले ‘फ्रड’ बढेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले त्यस्ता गतिविधि अझ धेरै भइरहेका छन् । उदाहरणका लागि फेसबुकजस्ता सामाजिक सञ्जालमा ब्रोकर खाता, डिम्याट खाता या बैंक खाता खोल्नुपरेमा सम्पर्क गर्नु भन्दै स्पष्ट नाम नभएका व्यक्तिबाट बारम्बार पोस्ट भइरहेको पाइन्छ ।
कतिपयमा व्यक्तिगत इमेल र फोन नम्बर राखेर पनि यस्ता सेवा दिने प्रस्ताव गर्दै पोस्ट गरिएको हुन्छ । यी सम्पूणर् खाता खोल्न सम्बन्धित निकायबाट स्वीकृति प्राप्त व्यक्ति वा संस्थाबाहेक अरुले सहयोगसम्म पनि गर्न पाउँदैन ।
जस्तैः बैंक खाता बैंकले मात्र खोलिदिन सक्छ । डिम्याट खाता धितोपत्र बोर्ड तथा सीडीएसबाट स्वीकृति प्राप्त कम्पनीले मात्र खोलिदिन सक्छ भने दोस्रो बजारको सेयर कारोबार खाता सेयर ब्रोकर कम्पनीले मात्र खोलिदिन सक्छन् । यी कतिपय खाता निःशुल्क खोल्न सकिन्छ भने कतिपयमा निश्चित शुल्क बुझाउनुपर्छ ।
व्यक्तिगत नामबाट सामाजिक सञ्जालमा आउने यस्ता पोस्ट र समूहहरु आफैंमा फ्रड हुन् । यिनले अनधिकृत रुपमा व्यक्तिका व्यक्तिगत विवरण, बैंक खाता नम्बर र डिम्याट खाता नम्बर लगिरहेका हुन्छन्, जुन हरेक समय सम्बन्धित व्यक्तिका लागि जोखिमपूर्ण हुनसक्छ ।
यसबाट कति सर्वसाधारण ठगिएका छन् भन्ने धितोपत्र बोर्डले न अनुसन्धान गर्न सक्यो न त कारबाही नै । यसको कारण यी सेवा प्रदान गर्नेसम्म लगानीकर्ताको पहुँच र प्रविधि पुग्न नसक्नु पनि हो । जसको फाइदा यस्ता फ्रडहरुले उठाइरहेका छन् ।
सेयर बजार बढ्दै जाँदा यस्ता गतिविधि बढ्दै जान्छन्, जसबाट लगानीकर्ताले आफूलाई सुरक्षित राख्न सक्दो कोशिश गर्नुपर्छ । क्यानडाको अन्टेरियो सेक्युरिटिज कमिसनले वेबसाइटमा स्क्याम वा फ्रड हुनसक्ने बारेमा चारवटा संकेत दिएको छ ।
जस्तैः बढी नाफा कम जोखिमको लोभ देखाइएका, हट टिप्स तथा भित्री सूचना भनिएका, अहिले नै किन्न दबाब दिइएका र लगानी सेवा प्रदान गर्न दर्ता नै नगरिएका सेवाप्रदायक भएमा त्यहाँ फ्रड वा त्यस्ता कुरा स्क्याम हुन्छन् ।
सामाजिक सञ्जालमा कुनै कम्पनी वा समूह विशेषको सेयर किन्न वा बेच्न प्रोत्साहित गर्ने, भित्री सूचना प्राप्त भएको भन्ने जस्ता पोस्ट यत्रतत्र देखिन्छन् । यी सब भ्रम सिर्जना गरेर पहिला आफूले किन्ने अनि पछि मूल्य बढाएर बिक्री गर्ने फ्रड समूह हुन सक्छन् ।
लगानी व्यवस्थापन कम्पनीका नाममा धितोपत्र बोर्डबाट लाइसेन्स लिएका धेरै कम्पनीले यसरी नै पम्प एन्ड डम्प गर्नका लागि सामाजिक सञ्जालमा ‘फ्रड ग्रुप’ सञ्चालन गर्ने गर्छन् । त्यसबाट लगानीकर्ता आफैं सचेत हुन आवश्यक हुन्छ ।
वित्तीय सेवाहरु अनुमति प्राप्त व्यक्ति वा कम्पनीले मात्र गर्न सक्ने भएकाले त्यसको सूचना सर्वसाधारणमा पुग्न जरुरी छ । भनिन्छ- लगानी गर्नुअघि चेक गर्नुहोस् वा पुष्टि गर्नुहोस् र आफूलाई सुरक्षित राख्नुहोस् । यसको अर्थ सम्बन्धित व्यक्ति वा संस्था सम्बन्धित सेवाका लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त हो वा होइन भन्ने हेर्नुहोस्, बुझ्नुहोस् र प्रमाणित गर्नुहोस् ।
तर, दुर्भाग्य नेपाल धितोपत्र बोर्डले त्यस प्रकारको सुविधा लगानीकर्तालाई दिन सकेको छैन । ब्रोकर कम्पनीमा काम गर्ने हरेक जसो कर्मचारी लगानीकर्तालाई किनबेचको सल्लाह दिइरहेका हुन्छन् । जब कि नेपालका कुनै पनि ब्रोकर कम्पनीले किनबेचको सल्लाह दिन स्वीकृति पाएका छैनन् ।
यसरी सल्लाह दिने ब्रोकर कम्पनीका कर्मचारीको नाम बोर्डमा दर्ता छ कि छैन भनेर धितोपत्र बोर्डको वेबसाइटमा खोज्दा भेटिँदैन । यस्तै लगानी व्यवस्थापन कम्पनीका हरेक कर्मचारी लगानीकर्तालाई सेवा लिन प्रस्ताव गरिरहेका हुन्छन् । किनबेचको सल्लाह दिइरहेका हुन्छन्।
ती व्यक्ति अनुमतिप्राप्त लगानी सल्लाहकार हो या होइन भनेर चेक गर्ने ठाउँ छैन । अझ अहिले खुलामुखी म्युचुअल फन्ड सञ्चालन गर्ने संस्थाको संख्या बढ्दै गएको छ । खुलामुखी म्युचुअल फन्ड योजना भनेको व्यक्ति-व्यक्ति वा संस्था-संस्थालाई बुझाएर उनीहरुको जोखिम बहन गर्ने क्षमताको मूल्यांकन गरी फन्ड बिक्री गर्ने लगानी योजना पनि हो ।
यी सेवा बिक्री गर्न नियुक्त भएका व्यक्ति लाइसेन्स प्राप्त र धितोपत्र बोर्डमा दर्ता भएका आधिकारिक हुनुपर्छ । तर, ती व्यक्तिको आधिकारिकता चेक गर्ने कुनै माध्यम छैन न त धितोपत्र बोर्डले नै त्यस्ता व्यक्तिलाई प्रमाणित गर्ने गरेको छ । यी व्यक्ति जीवन बिमा बिक्री गर्ने अभिकर्ताले झैं लाइसेन्स प्राप्त हुनुपर्छ ।
उदाहरणका लागि मेरो म्यासेन्जरमा हामी तपाईंको पोर्टफोलियो व्यवस्थापन गरिदिन्छौँ भनेर कुनै एक कम्पनीले म्यासेज पठायो। अन्य व्यक्ति वा संस्थाको पोर्टफोलियो व्यवस्थापन गर्न धितोपत्र बोर्डबाट स्वीकृति लिएको हुनुपर्छ ।
मैले उक्त कम्पनी स्वीकृत हो या होइन भनेर प्रमाणित गर्न धितोपत्र बोर्डको वेबसाइटको सर्च बटनमा गएर खोजी गर्ने प्रयास गरेँ तर बटनले काम गरेन । स्वीकृत कम्पनी हो भन्ने थाहा पाएर पनि ती कम्पनीको नाम बोर्डको सर्च बटनमा लगाएर खोज्दासम्म त्यसले देखाउन सकेन ।
बजारमा फ्रड नियन्त्रण गर्न र अनुमति लिएका वा नलिएका व्यक्तिको जाँच गर्ने प्रणालीलाई चुस्तदुरुस्त राख्नुपर्ने हुन्छ । तर, बोर्डले त्यसो गर्न सकेको छैन । यस्तै बोर्डमा र बोर्डबाट स्वीकृति लिएर खुलेका संस्थामा काम गर्ने हरेक कर्मचारी धितोपत्र बोर्डमा दर्ता हुनुपर्छ ।
धितोपत्र बोर्डले त्यसो नगरेका कारण पनि सेयर बजारमा जो पनि डिम्याट खाता खोलिदिन्छु, ब्रोकरकहाँ कारोबार खाता खोलिदिन्छु, पोर्टफोलियो व्यवस्थापन गरिदिन्छु, म्युचुअल फन्डको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) भन्दै प्रचार गरिरहेका छन् ।
सामाजिक सञ्जाल समाजलाई सुसूचित गर्ने मात्र नभएर फ्रडको कारखाना पनि भएको छ । यसबाट सर्वसाधारण लगानीकर्तालाई बचाउन आवश्यक नीति र तत्परता आवश्यक छ । बोर्डले २०७६ मा सूचना प्रविधि नीति भनेर त ल्यायो तर त्यो व्यवहारमा भन्दा कागजमा सीमित भएको देखिन्छ । यसैले हरेक वर्ष कागजमा लेख्ने मात्र होइन, काम गर्ने नीति बनाउन आवश्यक छ । जसले हरेक दिन बजार र लगानीकर्ताको हित गर्दै जाओस् ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स तथा बिमाका बारेमा जीवन बिमा कोर्स गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेस्ट इन स्टक मार्केट, जीवन बिमा जस्ता किताब लेखेका छन् ।)
यो पनि पढ्नुहोस्