सरकारकै सल्लाहमा महावीर पुन आन्दोलनमा उत्रिनुभएको होः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलनमा उत्रिएको बताएका छन् ।

सोमबार प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताएका हुन् ।

महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

‘महावीर पुन माइतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । राम्रो कुराकानी भयो । केही माग गर्नुभएको छ । जिडिपीको एक प्रतिशत भन्नुभएको रहेछ, तर त्यसको होइन, अहिलेको आर्थिक अवस्था हेर्दा विकासको त्यसमा राम्रो छलफल भयो । म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाई बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो । म उहाँका माग सम्बोधन गर्छु’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले पूर्वलडाकुलाई रकम दिने विषय २०७१ सालमा सरकारले गरेको निर्णय भएको बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताए । प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउने दाबी गरे ।


क्लिकमान्डु