भारतबाट युरोप निर्यात भइरहेको तेलले कसलाई फाइदा ?



एजेन्सी । युक्रेनमाथि रुसले गरेको हमलाको विरुद्धमा युरोपेली संघ (ईयू)ले गत वर्ष डिसेम्बरबाट नै रुसमाथि कच्चा तेलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । लगभग पूर्णरुपमा रुसबाट युरोपका देशहरुमा निर्यात हुने कच्चा तेलमाथि प्रतिबन्ध लागेको छ ।

त्यसको दुई महिनापछि यो प्रतिबन्धलाई थप विस्तार गर्दै युरोपले रिफाइन भएको तेल र तेलसँग सम्बन्धित वस्तुहरुमाथि पनि प्रतिबन्ध लागेको थियो ।

प्रतिबन्ध लाग्नुअघि युरोपले आफ्नो आवश्यकता पूर्तिका लागि रुसबाट ३० प्रतिशत तेल किन्ने गरेको थियो । प्रतिबन्ध लगाएसँगै युरोपेली संघसँगै युरोपका अन्य देशहरुमा पनि तेलको संकट आउन सक्ने अनुमान गरिएको थियो । युरोपका लागि यो विषय निकै चिन्ताको विषय थियो किनकी युरोप यसअघि नै पनि बढ्दो महंगीसँग संघर्ष गरिरहेको थियो ।

तर, यो प्रतिबन्ध हुँदाहुँदै पनि युरोपेली बजारमा रुसी तेलको निर्यात भइरहेको छ ।

युरोपको बजारमा रुसबाट प्रत्यक्षरुपमा नपुगेपनि त्यहाँकै तेल भारतको बाटो हुँदै पुगिरहेको छ । रुसबाट भारतमा आयात हुने कच्चा तेल रिफाइन भएर अहिले युरोपमा पुगिरहेको हो ।

रुसको कच्चा तेल प्रत्यक्षरुपमा युरोप नपुग्दा युरोपमा रहेका तेल रिफाइनिङ कम्पनीहरुलाई आफ्नो सामान उत्पादनमा समस्या पैदा भएको छ । तर, भारतका निजी क्षेत्रका रिफाइनरिहरुले युरोपमा भइरहेको अभावलाई पूरा गर्नका लागि भारतबाट तेल निर्यात गर्ने अवसरको रुपमा यो समयलाई प्रयोग गरेका छन् ।

तथ्यांककाअनुसार गत वर्ष जनवरीसम्म भारतबाट युरोपेली संघका देशहरुमा रिफाइन्ड पेट्रोलियम वस्तुहरुको निर्यात लगातार पाँच महिनादेखि बढिरहेको छ । महिनामा १९ लाख टनसम्म पेट्रोलियम वस्तुहरु भारतबाट युरोपका देशहरुमा निर्यात भइरहेको छ ।

भारतबाट सबैभन्दा धेरै पेट्रोलियम वस्तु किन्ने युरोपेली संघ

आर्थिक वर्ष २०२२÷०२३ को मासिन तथ्यांककाअनुसार अप्रिल २०२२ देखि जनवरी २०२३ सम्ममा भारतबाट युरोपमा निर्यात हुने रिफाइन्ड पेट्रोलियम वस्तुहरुको निर्यात लगातार बढेर १.१६ करोड टनसम्म पुगेको छ।

यसकारण भारतबाट रिफाइन्ड पेट्रोलियम वस्तुहरु निर्यात हुने २० क्षेत्रहरुमध्ये युरोपेली संघ शीर्ष स्थानमा पुगेको छ । यो समयमा भारतबाट निर्यात भएका पेट्रोलियम वस्तुहरुको निर्यातको १५ प्रतिशत हिस्सा केवल युरोपेली बजारमा भएको छ । कालान्तरमा यो बढेर २२ प्रतिशतसम्म पुगेको छ ।

ब्लूमबर्गको एक रिपोर्टकाअनुसार रुसको पेट्रोलियम उत्पादनहरुमाथि युरोपेली संघले लगाएको प्रतिबन्दपछि भारतको रिफाइन्ड पेट्रोलियम वस्तुहरुको बजारमा निर्यात लगातार बढिरहेको छ । र अहिले भारतले यस्ता वस्तुहरु निर्यात गर्ने सबैभन्दा ठूलो वितरक बन्ने संकेत देखाइरहेको छ ।

अमेरिका र युरोपले प्रतिबन्ध लगाएपछि भारतले रुसबाट निकै ठूलो मात्रामा कच्चा तेल किनिरहेको छ । निकै कम मूल्यमा भारतले अहिले रुसबाट कच्चा तेल आयात गरिरहेको छ ।

गत वर्ष फेब्रअरीमा सुरु भएको रुस-युक्रेन युद्ध हुनुअघि भारतले रुसबाट आयात गर्ने तेलको हिस्सा केवल १ प्रतिशत थियो । तर, यो वर्ष फेब्रुअरीमा यो हिस्सा बढेर ३५ प्रतिशतसम्म पुगेको छ । यो समयमा भारतले रुसबाट प्रतिदिन १६.२ ब्यारल तेल खरिद गरिरहेको थियो ।

यहि वर्ष मार्चमा रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोवाकले बताएअनुसार रुसले पछिल्लो एक वर्षमा भारतमा आफ्नो तेलको बिक्रीलाई २२ प्रतिशतसम्मले बढाएको छ । भारत, चीन र अमेरिकापछिको सबैभन्दा ठूलो तेल खरिद गर्ने देश हो । तर, अमेरिका र युरोपको प्रतिबन्दपछि रुसले आफ्नो तेल सस्तो बनाएको थियो । जुन समय भारतका लागि आफ्नो तेल भण्डारण बढाउने निकै सुनौलो मौका साबित भएको छ ।

रुसबाट भइरहेको ठूलो मात्राको तेलको वितरणको फाइदा अहिले भारतमा भएका नीजि तेल रिफाइनिङ कम्पनीहरुले उठाइरहेका छन् । र यस्ता कम्पनीहरुले आफूले रिफाइन गरेको वस्तुहरुको सबैभन्दा ठूलो र राम्रो बजार युरोपमा देखिरहेका छन् ।

भारतका निजी कम्पनीलाई फाइदा

रुस र युक्रेनबीच भइरहेको द्वन्द्व र यसमा अमेरिका र युरोपले रुसमाथि लगाएको प्रतिबन्धकाबीच सबैभन्दा धेरै फाइदा भारतका निजी कम्पनीहरुले लिने मौका मिलेको छ ।

भारत संसारकै सबैभन्दा ठूलो तेल रिफाइनरी भएका देशहरुमध्येमा पर्छ । भारतीय रिफाइनिङ कम्पनीहरुले बढाएको आफ्नो वितरणका कारण युरोपेली बजारमा तेलको संकट देख्नु परेन, जबकी द्वन्द्वको सुरुवात हुँदा सबैभन्दा धेरै आशंका यहि कुराको थियो ।

भारत सबैभन्दा धेरै कच्चा तेल आयात गर्ने देशहरुमध्येमा पर्छ । तर, भारतमा भएका रिफाइनरीहरुको क्षमता भारतकै घरेलु मागभन्दा निकै धेरै छ । यहि कारण अतिरिक्त वितरणका लागि अहिले भारत तीव्रताका साथ यूरोपेली बजारतर्फ मोडिएको छ ।

यसले भारतका रिफाइनिङ कम्पनी रिलायन्स र रुसको ऊर्जा समूह रोजनेफ्टको हिस्सा रहेको कम्पनी नायरालाई निकै फाइदा भएको छ । युरोपेली संघले रुसको तेलमाथि प्रतिबन्द लगापनि भारतबाट निर्यात भएको रुसी तेल भने निकै मात्रामा खरिद गरिरहेको छ ।

यसबीच युरोपेली देशहरुले रुसबाट सस्तोमा कच्चा तेल खरिद गरिरहेको भारतको कदममाथि आपत्ति पनि जनाएका छन् । डिसेम्बर २०२२ मा भारत आएका जर्मनीका विदेशीमन्त्री एनेलिना बेरबोकले जब रुसको तेल भारतले खरिद गरिरहेको विषयमा भारतको आलोचना गरेकी थिइन्, तब भारतीय विदेशमन्त्री एस जयशंकरले नौ महिना पहिले युरोपेली संघले रुसबाट खरिद गरिरहेको तेलको तुलनामा ६ भागको एक भागमात्रै खरिद गरिरहेको भन्दै जवाफ दिएका थिए ।

अहिले भने युरोपेली देशमा भारतको तेल मगाउने र खरिद गर्ने विषयमा कुनै आलोचना देखिएको छैन । युरोपले पनि अन्ततः आफ्नो माग कुनै न कुनै देशबाट पूर्ति गर्नै पर्ने भएकाले भारतबाट तेल लैजान बाध्य छ ।

के भारत तेल वितरक देशको रुपमा आइरहेको हो ?

आईआईएफएल सेक्युरिटिजमा कमोडिटिज (वस्तु शाखा)का उपाध्यक्ष रहेका अनुज गुप्ता भारतमै पनि तेलको माग निकै धेरै रहेको बताउँछन् । भारतमै क्रुड ओइल (कच्चा तेल)को माग धेरै रहेको र भारतको भण्डारणले एक महिनासम्म पनि टिक्न नसक्ने उनको तर्क छ ।

तर, यस्तोमा यदि भारतीय रिफाइनिङ कम्पनीहरुले अतिरिक्त आपूर्ति गरेर पेट्रोलियम पदार्थको निर्यात बढाइरहेका छन् भने यो फाइदाजनक नै रहेको छ ।

गुप्ताका अनुसार रुसको तेलमाथि लगाइएको प्रतिबन्दपछि युरोपेली संघका देशहरुमा जुन किसिमको तेलको संकटको छनक आएको थियो, त्यो देख्दै उनीहरुले आयात बढाएका थिए । विगतमा भारतबाट धेरै मात्रामा तेल खरिद नगर्ने युरोपले संकटको संकेतका बीच भारतबाट पनि पेट्रोलियम वस्तुहरु खरिद गर्न सुरु गरेका थिए ।

‘यो भारतको आर्थिक क्षमताका लागि राम्रो कुरा हो,’ गुप्ता भन्छन्, ‘यसले गर्दा भारत तेल वितरणमा भरोसा गर्न योग्य वितरकको रुपमा उदाइरहेको छ । भारत वितरण प्रणालीको एउटा महत्वपूर्ण कडीको रुपमा उदाउने सम्भावना देखाइरहेको छ, जसलाई अमेरिका र युरोपेली देशहरुले भरोसा गर्न सक्छन् ।’

यो सबै भारतको आर्थिक अवस्थाका लागि फाइदाजनक रहेको छ ।

विश्लेषकहरुका अनुसार केही देशहरु भारतले रुसबाट धेरै तेल खरिद गरेकोमा केही देशहरु भारतप्रति आपत्ति जनाइरहेका थिए । बाहिरीरुपमा उनीहरुले आपत्ति जनाएपनि विश्वभरमा अत्यावश्यक रहेको पेट्रोलियम वस्तुहरुको वितरणको विषयलाई लिएर आन्तरिकरुपमा भने कुनै पनि त्यस्तो चिन्ता उत्पन्न नभएको अवस्था थियो ।

अमेरिका र अन्य कैयौं पश्चिमी देशहरुका लागि भारतका रिफाइनिङ कम्पनीहरुले विश्वव्यापीरुपमा तेल वितरणलाई निरन्तरता दिन सक्नु राहतको विषय हुन्छ । किनकी, यसले भारत तेलको रिफाइनिङ भएतापनि यसको बजार भने विश्वभर नै हुनेछ । भारतमा तयार भनेको तेलदेखि पेट्रोलियम वस्तुहरु अमेरिका र युरोपसँगै अन्य पश्चिमी देशहरुमा पुग्छन् । यो युरोप र अमेरिका दुबैको हितमा रहेको छ । खासगरि युरोपका लागि यो निकै फाइदाजनक छ ।किनकी, युरोपमा बढ्दै गइरहेको महंगीका कारण त्यहाँ तेल मंहगो हुँदै जाँदा वितरणमै समस्या भइदियो भने संकटको अवस्था सिर्जना हुन्छ ।

अमेरिका र युरोपका लागि तेलको विश्वव्यापी वितरणमा संकटबाट बच्नका लागि भारतबाट तेलको निर्यात बढाउने एउटा राम्रो कदम हुन्छ ।

भारतीय रिफाइनिङ कम्पनीहरुलाई पनि यसले फाइदा नै पुर्याइरहेको छ । सस्तोमा रुसबाट कच्चा तेल आयात गरेर त्यसलाई रिफाइन गरि अन्य देशलाई बेच्दाको मार्जिन पनि धेरै रहन्छ ।

गुप्ता भन्छन्, ‘भारतलाई यसबाट फाइदा हुनेछ । यसले भारतको रिफाइनिङ उद्योग थप बलियो बन्नेछ र भविष्यमा यो प्रमुख बजार पनि बन्न सक्छ ।’

बिबिसीबाट


क्लिकमान्डु