आलोचनाले ट्विटर घेरिरहँदा पूर्वसीईओले ल्याए विकल्पको रुपमा ‘ब्लुस्काई’



काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा अहिले ट्विटरको चर्चा चुलिरहेका बेला कम्पनीका पूर्वसीईओ ज्याक डोर्सीले बिहीबार नयाँ एप सार्वजनिक गरेका छन् ।

ट्विटरका संस्थापकसमेत रहेका पूर्वसीईओ डोर्सीले २० अप्रिलमा एन्ड्रोइड प्रयोगकर्ताका लागि ‘ब्लुस्काई’ नामको एप सार्वजनिक गरेका हु्न् । उनले यसलाई सामाजिक सञ्जालको माध्यम ट्विटरको विकल्पको रुपमा विश्वबजारसामु ल्याएका छन् ।

ट्विटरलाई लिएर चारैतिर आलोचना भइरहेका बेला डोर्सीको यो कदमलाई लिएर अहिले चर्चा भएको छ । हाल ट्विटरले यसअघिसम्म विभिन्न मापदण्डका आधारमा नि:शुल्क प्रदान गरिरहेको प्रमाणीकरण (ब्लु टिक)का लागि पनि शुल्क लाग्ने बनाएको छ । उक्त कदमलाई लिएर पनि आलोचना भइरहेको छ ।

हाल डोर्सीले सार्वजनिक गरेको नयाँ सामाजिक सञ्जालको भने चर्चा चुलिरहेको छ । हालसम्म विकासकै क्रममा रहेको यो एप केवल इनवाइट कोड (ओटीपी)बाट चलाउन मिल्छ । एपमा सामान्य र सहज युजर इन्टरफेस छ भने २५६ शब्दसम्मका पोस्ट गर्न सकिन्छ । सँगै यसमा फोटो पनि पोस्ट गर्न मिल्छ ।

डोर्सीले आफ्नो सामाजिक सञ्जालको एप ब्लुस्काईलाई ट्विटरको सुरुवाती दिनकै जस्तो फिचरहरुका साथ ल्याउन लागेका छन् । उनले आफ्नो वेबसाइटमार्फत भनेका छन्, ‘हामी ब्लुस्काई एपमार्फत सोसियल नेटवर्किङका लागि नयाँ बिन्दु सावित हुनेछौं । यो एप अबका दिनमा प्रयोगकर्तालाई धेरै अप्सन र किएटर्सलाई धेरै स्वतन्त्रताका साथ प्रयोग गर्न मिल्ने किसिमको हुनेछ ।’

प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार ब्लुस्काई एपमा लाइक, बुकमार्क, रिट्विट, ह्यासट्याग लगायतका विभिन्न सुविधा उपलब्ध छ । यो एप ट्विटरको परिष्कृत स्वरुपमा बनाइएको छ । उक्त एप सार्वजनिक भएपछि हालसम्म यसमा २० हजारभन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेको बताइएको छ ।

डोर्सीले सन् २०१९ बाट नै यो एपमा काम गरिरहेका थिए । त्यसबेला उनी ट्विटरमै काम गरिरहँदा पनि यो परियोजनालाई लिएरसमेत सँगै काम गरिरहेका थिए । सञ्चारमाध्यमका अनुसार उनको कम्पनीलाई लगभग १२६ करोड रुपैयाँको फन्डिङ पनि प्राप्त भएको छ ।


क्लिकमान्डु