३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्रमा सिंहदरबार भित्रको फोहोर उठाउन आदेश दिएको छ । फोहोर आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी विसर्जन गर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले सिंहदरबार, शितल निवास र प्रधानमन्त्री कार्यालयको फोहोर उठाउन आदेश दिएको छ ।
गत चैत २४ गतेबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए । संघीय सरकारलाई विभिन्न कामकारबाहीको शिलशिलामा सहयोग र समन्वयका लागि महानगरले आग्रह गर्दा सो प्राप्त नभएको उल्लेख गर्दै महानगरका मेयर बालेनले फोहोर नउठ्ने घोषणा गरेका थिए । त्यसयता सिहदरबारसहित प्रधानमन्त्री कार्यालय र शितल निवासको फोहोर उठेको छैन ।
यो विषयलाई लिएर अभिवक्ता श्रेष्ठले गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिँदै महानगरलाई फोहोर उठाउन आदेश दिएको छ ।
अन्तरिम आदेशमा भनिएको छ, ‘…स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जन समेत अविलम्ब गर्नु, गराउनु भनि काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’