अमेरिका, जर्मनी लगायतका देशमा पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने पक्राउ



काठमाडौं । अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाख तलब हुन्छ भन्दै २० जनालाई ठगेपछि प्रहरीले पक्राउ गरेको छ ।

खड्काले पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई रौतहट चन्द्रपुर नगरपालिका–४ चपुरबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।


क्लिकमान्डु