भारतमा खुल्यो एप्पल स्टोर, अम्बानीलाई मासिक ४२ लाख भारु भाडा तिर्ने



एजेन्सी । भारतमा खुलेको पहिलो आधिकारिक एप्पल स्टोरको उद्घाटन कम्पनीका सीईओ टिम कुकले गरेका छन् । मुम्बईमा खुलेको पहिलो एप्पल आधिकारिक स्टोरको उद्घाटन कुकले गरेका हुन ।

एप्पलले आफ्नो व्यापार विस्तारका लागि भारतमा आफ्ना आधिकारिक स्टोर खोलिरहेको छ । यसैबीच भारतको मुम्बई र राजधानी दिल्लीमा एप्पल स्टोर खुलेका छन् ।

भारतीय अर्बपति मुकेश अम्बानीको भवनमा मासिक ४२ लाख भारू भाडा तिर्ने गरी उक्त स्टाेर खुलेकाे हो ।

कुकले मुम्बईमा खुलेको स्टोरको उद्घाटन गरिसकेका छन् भने बिहीबार दिल्लीमा खुल्ने स्टोरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एप्पलको आधिकारिक स्टोरको उद्घाटन गर्दै कुकले पसलको ढोका खोलेर ग्राहक तथा कर्मचारीहरुको स्वागत गरेका थिए । मुम्बईमा खुलेको उक्त स्टोरको उद्घाटनका लागि धेरै मानिसहरुको भिड जम्मा भएको थियो ।

विगतमा होलसेलर र रिसेलरमार्फत भारतमा आफ्ना उपकरणहरुको बिक्री वितरण गरिरहेको एप्पले मुम्बईमा पहिलो आधिकारिक स्टोर खोलेको छ । उक्त स्टोर भारतमा चर्चित रहेको कालो र पहेंलो रंगको ट्याक्सीकै ‘कलर थिम’ मा रहेको छ ।

भारतमा आफ्ना उपकरणहरुको उत्पादन पनि गर्ने तयारी गरिरहेको एप्पलका आईफोनहरुले भारतको स्मार्टफोन बजारमा ९ प्रतिशत हिस्सा ओगट्छन् ।


क्लिकमान्डु