एफएनसीसीआई निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फको मतदान सकियो, एसोसिएटतर्फ कति खस्यो ?



काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा जिल्ला/ नगरतर्फ र वस्तुगततर्फको मतदान सकिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एसोसिएट तर्फको मतदान भने जारी रहेको छ ।

महासंघको चुनावमा अहिलेसम्म जम्मा १३७२ मत खसेको छ । एसोसिएटतर्फ ११३२ मत खसेको छ भने जिल्ला/नगरतर्फ ११७ र वस्तुगततर्फ १२३ मत खसेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्ला/नगरतर्फ र वस्तुगततर्फ शतप्रतिशत मत खसेको हो ।

बुधबार विहान १० बजेदेखि सुरु भएको मतदान पाँच बजेसम्म जारी छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई उम्मेदवार रहेका छन् ।

त्यस्तै जिल्लारनगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जना चुनावी मैदानमा रहेका छन् ।

आज जारी निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

जिल्लारनगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।


क्लिकमान्डु