महानगरले कहिले उठाउला सिंहदरबारको फोहोर ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट सिंहदरबारको फाहोर उठ्न सकेको छैन ।

संघ सरकारले महानगरलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

शनिबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट फोहोर नउठाउने भनेका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको बिरोध गरेका छन् ।

राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको बिरोध गरेका हुन् । आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमबार पनि उठेको छैन । सिंहदरबारभित्रको फोहोर संकलन गरेर पुतली बगैँचामा थुपारिएको छ ।

विज्ञहरुले संघीय सरकार र स्थानीय सरकारबीचको टकराव सिंहदरबारबाट सुरु भएको बताएका छन् । मेयर साहको सचिवालयले समस्या समाधान नभएसम्म सिंहदरबार लगायतका स्थानबाट फोहोर नउठाइने बताउँदै आएका छन् ।


क्लिकमान्डु