दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्सान हुँदैछः कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले त्यसले नेपाललाई घाटा पुग्ने बताए ।

‘अहिले एउटा एक्ट आउँदैछ । ऐन आउने भनेर सुनिरहेका छौँ हामीले । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ तर त्यो एक्टले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ’ कोइरालाले भने ।

नेपालसँग अहिले १० महिनासम्मका लागि पुग्ने सञ्चिति रकम रहेको भन्दै नेपाल श्रीलंका र पाकिस्तानजस्तो नहुने बताए । पछिल्लो समय राजस्व उठ्न नसक्दा कर्मचारीहरुलाई ऋण खोजेर तलव खुवाउने काम भइरहेको उनको भनाइ छ ।

‘देशको अर्थतन्त्र धराशायी बन्ने अवस्थामा छ, भोलि के हुन्छ हामीलाई हामी थाहा छैन । हामी भन्नसक्ने अवस्थामा छैनौँ तर हामी पक्कै पनि पाकिस्तान र श्रीलंका हुन दिँदैनौँ, हुँदैन’ कोइरालाले भने, ‘हामीसँग १० महिनाको लागि आवश्यक सञ्चिति रकम छ । हामीले अन्य कुरा व्यवस्थित गर्न सकेका छैनौँ, राजस्व उठ्दैन, ऋण लिएर कर्मचारीलाई तलब खुवाइरहेका छौँ ।’


क्लिकमान्डु