साइपालमा २१६ मेगावाटको जलविद्युत आयोजना निर्माणको तयारी, स्थानीय भन्छन्- अब विकासको मूल फुट्छ



साइपाल गाउँपालिका-४ रामुखोलामा विद्युतगृहका लागि माटो, बालुवा, ढुंगा परीक्षण हुँदै ।

बझाङ । साइपाल गाउँपालिका-४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले २१६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ । ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ नाम दिइएको जलविद्युत निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) सकेर रामाखोलामा बन्ने विद्युतगृह र सेती- इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ ।

आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरुवाती काम भइरहेको छ । ‘आयोजनाले वातावरण प्रभाव मूल्यांकनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो र ढुंगा परीक्षणका साथै अन्य प्रारम्भिक काम गरिरहेको छ,’ उनले भने ।

प्रारम्भिक अध्ययनका लागि आयोजना स्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरणहरू पनि हेलिकप्टरमार्फत ढुवानी गरेर काम गरिरहेको उनले बताए ।

जलविद्युत आयोजना साइपाल-४ धुलीको सेती नदी र इङ्गल्दार खोलाको संगमबाट लगभग १५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३.४ मिटर उचाइको बाँध बनाएर सुरूङमार्फत् विद्युत गृहमा पानी पठाउने र विद्युत निकाल्ने कम्पनीका इन्जिनियर सुदिप देवकोटाले बताए । उनका अनुसार धुलीमा ईआईएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीको टिमले बाँधस्थल र विद्युतगृह स्थलमा नियमित अध्ययन गरिरहेको छ ।

आयोजनाको स्थानीयले गरे स्वागत

आफ्नो ठाउँमा जलविद्युत आयोजना बन्ने भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सबैभन्दा अग्लो ठाउँमा ठूलो विद्युत बनेपछि पूर्वाधार विकाससमेत हुने भन्दै उत्साहित भएका हुन् ।

धुलीका कपिल बोहराका अनुसार आयोजनाले साइपालको समृद्धि, विकास र जनताको जीवनस्तर सुुधार हुने अपेक्षा स्थानीयले गरेका छन् । ‘ठूलो जलविद्युत बन्नु भनेको विकासको मूल फुट्नुजस्तै हो,’ उनले भने, ‘यति ठूलो आयोजना बनेपछि सडक बन्छ, भौतिक पूर्वाधार बन्छन् । स्थानीयलाई रोजगारी मिल्छ । जमिनको पनि उचित मूल्य पाइन्छ । त्यसपछि फेरिन्छ, साइपालको जनजीवन ।’

साइपाल-४ का सोनाम तामाङले पनि जलविद्युत आयोजना बन्दा साइपालबासीको मुहार फेरिने प्रतिक्रिया दिए । उनले भने, ‘ठूलो बिजुली बन्नका लागि सबै सामग्री हेलिकप्टरमा ढुवानी गरेर मात्रै हुँदैन । बाध्य भएर सबै एकजुट भई सडक बनाउनुपर्छ । त्यसपछि हामीलाई पनि गाउँमै सिंहदरबार आएको महसुस हुनेछ ।’

कस्तो बन्नेछ आयोजना ?

निर्माण कम्पनीका इन्जिनियर सुदिप देवकोटाका अनुसार अर्धजलाशयुक्त आयोजनाको नेट हेड ७३८ मिटर हुनेछ भने ३४.१० घनमिटर प्रतिसेकेन्ड डिजाइन बहाव हुनेछ । जलाशयमा पानीको आयतन ५ लाख ५२ हजार २४० घनमिटर, पिंकिङ क्षमता ४.५ घण्टा, बाँध ३९ मिटर लम्बाइ र १३.४ मिटर उचाइ रहने देवकोटाले बताए ।

ग्राभेल ट्रयाप २५ मिटर लम्बाइ र ५ मिटर चौडाइ रहन्छ । आयोजनाको ५ वटा अडिट सुरूङ रहनेछन् । जसको कुल लम्बाइ एक हजार ३४३ मिटर हुनेछ भने हेडरेस सुरूङ ९.२ किलोमिटर र ४.५ मिटर व्यास रहनेछ । डुप सफ्ट र तेस्रो सुरूङ २-२ वटा रहनेछन् । विद्युतगृह जोड्ने टेलरेस नहर २८५ मिटर लम्बाइ रहने उनले बताए ।

कति खर्च लाग्छ ?

निर्माण कम्पनीका अनुसार बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि ४१ अर्ब ६४ करोड ६० लाख रूपैयाँ अनुमानित रकम लाग्नेछ । जसमा ७० प्रतिशत अर्थात् २९ अर्ब रूपैयाँ निर्माण कम्पनीले विभिन्न बैंकमार्फत लगानी जुटाउनेछ भने ३० प्रतिशत अर्थात् १२ अर्ब रूपैयाँ सर्वसाधारणको हुनेछ ।

सर्वसाधारणको लगानीमा प्रभावित क्षेत्रका बासिन्दासहित सर्वसाधारणले आईपीओमार्फत् आयोजना निर्माणका लागि लगानी गर्नेछन् । आयोजनाको डीपीआर तयार भइसकेपछि ३ वर्षमा निर्माण सकिने कम्पनीले जनाएको छ ।

वन कति मासिन्छ ?

आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरि ५८.१५ हेक्टर वन नोक्सान हुनेछ । निर्माण कम्पनीका इन्जिनियर सञ्जीव बुढाथोकीका अनुसार सामुदायिक २८.८० र सरकारी १२.५५ गरी ४१.२५ हेक्टर वन स्थायी संरचनाका लागि मासिनेछ । १.४० हेक्टर सरकारी र १५.४० सामुदायिक वन गरी १६.८० हेक्टर अस्थायी संरचनाका लागि वन मासिन्छ ।

परियोजना निर्माणका क्रममा मासिने रूख बिरूवाको सट्टामा ५४ हजार बिरूवा वरिपरि रोपिने कम्पनीले जनाएको छ । धुलीमा ईआईए सार्वजनिक गर्दै बुढाथोकीले भने, ‘वन नियमावली २०७९ अनुसार क्षति पुग्ने वन क्षेत्रको सट्टा ५३ हजार ६७० बिरुवा निर्माण कम्पनीले लगाउने र संरक्षण गर्नेछ ।’

वातावरणीय प्रभाव अभिवृद्धि तथा विभिन्न सीप विकासको तालिमका लागि २३ लाख ९० हजार रुपैयाँ र प्रभाव न्यूनीकरणका लागि २ करोड १० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।

भूमिराज पिठातोली/रासस


क्लिकमान्डु