उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने ६४ व्यावसायिक फर्मलाई कारबाही



वीरगन्ज । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जले कारबाही गरेको हो ।

चालू आर्थिक वर्ष २०७९?८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट एक लाख ४९ हजार राजस्व संकलन भएको सो कार्यालयका सूचना अधिकारी दिलिपखंग खत्बेले जानकारी दिए ।

यस्तै चालू आव २०७९/८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी दुई सय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको जनाएको छ । अवधिमा एक हजार ६ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र ६ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खंगले बताए ।

यस्तै उक्त अवधिमा एक सय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उनले जानकारी दिए । ती सबै शीर्षकबाट ८० लाख ३४ हजार तीन सय राजस्व संकलन भएको सूचना अधिकारी खंगले बताए ।

म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिए ।


क्लिकमान्डु