‘इन्टरकन्टिनेन्टल होटल ग्रुप’ को चेन होटल नेपाल भित्रियो, पौने २ अर्ब लगानीमा टंगालमा बन्ने



काठमाडौं । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इन्टरनेसनल होटल ब्रान्ड ‘इन्टरकन्टिनेन्टल होटल ग्रुप’ (आईएचजी) को चेन होटल नेपालमा भित्रिएको छ । अन्तर्राष्ट्रिय बजारमा ‘होलिडे इन एक्स्प्रेस’ ब्रान्डको मध्यम प्रकारका होटल सञ्चालन गर्दै आएको कम्पनीले नेपालमा पनि चेन होटल सञ्चालनमा लागि स्वार्णिम बुटिक होटल प्रालिसँग सम्झौता गरेको हो ।

विश्वभर ३ हजार ५९ वटा होटल र ३ लाख २३ हजार ९६ वटा कोठाको सुविधा दिँदै आएको कम्पनीले नेपालमा पनि लगानी गर्ने भएको हो । सन् २०२२ को सेप्टेम्बरसम्ममा ६४३ वटा होटल पाइपलाइन रहेको कम्पनीले जनाएको छ ।

आईएजची चेन होटलको ब्रान्ड होलिडे इन एक्स्प्रेसले विश्वभर दिँदै आएको सुविधा नेपालमा पनि प्रदान गर्ने गरी स्वार्णिम बुटिकले सञ्चालन गर्ने भएको हो । स्वार्णिम बुटिकका अनुसार आईएचजीले अन्तर्राष्ट्रिय स्तरकै सुविधा दिन्छ । स्वार्णिम बुटिकले बुकिङ र मार्केटिङ सुविधा, सिस्टम इम्प्लिकेसन र कन्सल्टेसन सेवाको सुविधा पाउनेछ ।

सम्झौताअनुसार स्वार्णिम बुटिक होटलले काठमाडौंको टंगालमा चेन होटल निर्माण गरिरहेको छ । कम्पनीले तीन तारे बुटिक होटल निर्माण गर्नेछ । टंगालमा ११ हजार ८३१ वर्गफिटमा ११० वटा कोठा क्षमताको होटल निर्माण गर्ने तयारी छ ।

कम्पनीले सुरुमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरेकोमा कोरोनाका कारण लागत बढेर पौने २ अर्ब पुग्ने भएको कम्पनीले जनाएको छ । महँगीले गर्दा अनुमानित लागत ५०.७३ प्रतिशतले बढेको हो ।

कम्पनीले होटल निर्माणका लागि ९९ करोड रुपैयाँ कर्जा लिएको छ । कम्पनीले रेटिङ गराएर ९९ करोड रुपैयाँको दीर्घकालीन कर्जा लिने भएको हो । कम्पनीले बाँकी ७७ करोड २० लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछ । निर्माणको अनुमान लागतको अनुपात ५६:४४ राखेको छ ।

कम्पनीले हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७२ करोड ५० लाख रुपैयाँ लगानी सुनिश्चित गरिसकेको छ भने २६ करोड ५० लाख रुपैयाँ छिट्टै सुनिश्चित गर्ने जनाएको छ ।

कम्पनीमा लगानी गर्ने संस्थापकले ३६ करोड ७० लाख रुपैयाँ रकम सुनिश्चित गरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार २०२३ को जनवरीसम्ममा होटलको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको उल्लेख छ । साथै, कम्पनीले आगामी २०२४ मा आम्दानी गर्ने गरी निर्माण कार्य अगाडि बढाएको छ ।

होटलको अध्यक्ष नरेशलाल श्रेष्ठ हुन् । स्वार्णिम होटलले लामो समयदेखि साना खालका होटल सञ्चालन गर्दै आएको छ ।


क्लिकमान्डु