डलर साट्ने भन्दै साढे ३० लाख ठग्ने व्यक्ति पक्राउ



काठमाडौं । डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठग्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी गरेको पाइएको छ ।

घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुल्नआएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाउनुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु