मिटरब्याजको समस्या सरकारले तत्काल समाधान गर्नुपर्छः लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई मंगलबार प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए ।

आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको लामिछानेले बताए । सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताए । उनले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताए । उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे ।

‘पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ’ लामिछानेले भने ।


क्लिकमान्डु