काठमाडौँमा घरबहाल सम्झौता अनिवार्य



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन् ।

चैतदेखि कामपाले ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा सञ्चालन गरिरहेको छ । महानगरका अनुसार कानुनी सेवामा दैनिक १५ वटासम्म सहयोग लिन आउने गरेका छन् ।

सबैभन्दा बढी घरबहाल सम्झौत गर्ने नै आउने गरेको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार कामपाले फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै व्यक्तिगत वा संस्थागत रुपमा बहालमा दिनुपर्दा अनिवार्य लिखित सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार सम्झौता गर्न सहयोग माग गर्दै परामर्श कक्षमा आउने बढेका हुन् ।

जारी निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्छ ।

निर्देशिकामा कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ । लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र अर्को एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ । निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सो समेत उल्लेख हुनुपर्छ । निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्छ ।

त्यसैगरी, बहालमा बस्नेले घर छोड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्व लिखित सूचना घरधनीलाई दिनुपर्नेछ । भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि बहाल नतिरे सम्झौता स्वतः भंग हुन्छ ।

कामपाभित्र ४ लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । गत आर्थिक वर्षमा ३९ हजार करको दायरामा आएका थिए भने चालू आवको फागुनसम्ममा ९ हजार २ सयले मात्रै विवरण बुझाएका छन् ।

कामपाले बहाल करबापत चालू आवमा दुई अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । हालसम्म एक अर्ब ४८ करोड १३ लाख रुपैयाँ असुल भइसकेको छ ।


क्लिकमान्डु