गठबन्धन संस्कारलाई आत्मासात गर्दै अघि बढ्नुको विकल्प छैनः देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।

कुनै एक दलको प्रतिनिधिसभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरुले गठबन्धनको संस्कार आत्मसात गर्दै अघि बढनु परेको उनको तर्क थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक गठबन्धनहरु आत्म केन्द्रित, स्वार्थ प्रेरित र क्षणिक लाभका लागि नभई देश, जनता पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पारे ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन लागि आफ्नो पार्टीले यस अघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको उनको भनाइ थियो ।


क्लिकमान्डु