अरविन्द इम्पोरियमको व्यापार ५० प्रतिशतले बढ्यो, साढे २ अर्बको कारोबार



काठमाडौं । एचआर गोयल ग्रुपद्वारा सञ्चालित अरविन्द इम्पोरियम प्रालिको व्यापार ५० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ५०.०५ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ५८ करोड ५० लाख रुपैयाँको व्यापार गर्दा सन् २०२१ मा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । साथै, कम्पनीले सन् २०२० मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सिमेन्ट उद्योगलाई आवश्यक कच्चा पदार्थ बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी सिमेन्ट उद्योगलाई आवश्यक पर्ने जिपसम, आइरन ओर, बक्साइट, फ्लाइ एस र बिटुमेनजस्ता सामग्री बिक्री वितरण गर्दै आएको छ ।

नेपालका लागि एमवाईके स्लोम्बर्ग प्रालिको निर्माण केमिकल बेच्ने आधिकारिक विक्रेता र नेपाल आयल निगमको पेट्रोलिमय पदार्थको वितरकसमेत रहेको कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार गोयल हुन् ।

त्यस्तै, कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ८ करोड अर्थात् एफोर प्लस रेटिङ पाएको छ । कम्पनीले सबैभन्दा बढी बिटुमिन र पेट्रोलियम पदार्थबाट आम्दानी गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा १.४४ प्रतिशत मात्रै नाफा कमाएको छ । सन् २०२१ मा कम्पनीले २.३० प्रतिशत नाफा कमाएको थियो ।

कम्पनीअनुसार सन् २०२१ मा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाएकोमा सन् २०२२ मा व्यापार बढेपनि ४ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको उल्लेख छ ।


क्लिकमान्डु