चोभार सुक्खा बन्दरगाहमा एक वर्षमा १०९ कन्टेनर भित्रिए, साढे ४६ करोडको वैदेशिक व्यापार



काठमाडौं । सञ्चालनमा आएको करिब एक वर्षको अवधिमा चोभार सुक्खा बन्दरगाहमा १०९ वटा कन्टेनर भित्रिएका छन् ।

चोभार सुक्खा बन्दरगाहले गत चैतदेखि पूर्णरुपमा सञ्चालनमा आएको बन्दरगाहमा आइतबारसम्ममा १०९ वटा भित्रिएका हुन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका अपरेटर अधिकृत शान्तिला कार्कीले सञ्चालनमा आएदेखि हालसम्ममा १०९ वटा कन्टेर भित्रिएको जानकारी दिइन् ।

सरकारले डेढ अर्ब रुपैयाँले खर्चेर बनाइएको बन्दरगाह अपेक्षाअनुसार भने चल्न सकेको छैन । तर, आगामी दिनमा बन्दरगाहले धेरै नै सहजीकरण गर्नेमा सरोकारवालाहरु विश्वस्त छन् ।

कार्कीका अनुसार दुई महिना अघिसम्म पनि बन्दरगाहमा चहलपहल कम थियो । पछिल्ला दुई महिनामा कन्टेरनहरुको आवातजावत बढेको छ । त्यस्तै, उक्त बन्दरगाह भन्सारबाट हालसम्ममा ४६ करोड ६५ लाख ८० हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

अहिले भन्सार नाकामा पनि चेकजाँच गर्नुपर्ने र काठमाडौंमा चेकजाँच गर्नका लागि लाइन बसेर आउनुपर्ने बाध्यताले गर्दा बन्दरगाह प्रभावकारी ढङ्गबाट चल्न नसकेको कार्कीले बताइन् ।

भन्सार विभागको तथ्याङ्अनुसार करिब एक वर्षको अवधिमा ४५ करोड ११ लाख ८० हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ करोड ५४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

सरकारले अत्याधुनिकरुपमा स्थापना गरेको बन्दरगाह अपेक्षाअनुसार सञ्चालनमा नआएसँगै यसअघि नै विभिन्न क्षेत्रका व्यवसायीहरुसँग छलफल गरेका थिए ।

छलफलमा व्यवसायीहरुले अन्य भन्सारको तुलनामा निशुल्क तथा सहुलियत प्रदान गर्नुपर्ने माग गरेका थिए । साथै, सुरक्षाको ग्यारेन्टी चाहिने बताएका थिए ।


क्लिकमान्डु