वाइवाइले एकै वर्ष गर्‍यो ८ अर्बको व्यापार, नाफा भने घट्यो



काठमाडौं । नेपालका एकमात्र खर्बपति एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको सीजी फुड नेपाल प्रालिले एकै वर्ष ८ अर्बको व्यापार गरेको छ ।

आन्तरिक तथा बाह्य बजारमा पनि ठूलो सञ्जाल रहेको सीजी फुड नेपालले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

सीजी फुडको सबैभन्दा चर्चित उत्पादित वस्तु वाइवाइ चाउचाउ हो । आन्तरिक बजारमा मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा पनि प्रख्यात वाइवाइ चाउचाउको नेपाली बजारमा एकाधिकार जस्तै छ ।

थाइल्यान्डको थाइ प्रिजभ फुड फ्याक्ट्रीको सहकार्यमा चौधरी ग्रुपले सन् १९८४ देखि उत्पादन सुरु गरेको थियो । सीजीले उक्त कम्पनीमार्फत् वाइवाइसँगै रियो र क्विक ब्रान्डमा विभिन्न प्रकारका वस्तु बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा निरभाना चौधरीको ७६ प्रतिशत हिस्सा रहेको छ भने एम/एस एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत हिस्सा छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ९९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एवान रेटिङ पाएको छ ।

चाउचाउ क्षेत्रमा दुई तिहाइ हिस्सा ओगटेको कम्पनीको व्यापार बढे पनि नाफामा भने कमी आएको छ । कम्पनीले सन् २०२२ मा ५.३ प्रतिशत मात्रै नाफा कमाएको छ । जबकी सन् २०२१ मा कम्पनीले ११.१ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा कच्चा पदार्थ विशेषगरी गहुँ र पाम तेलको मूल्य वृद्धि हुँदा नाफामा कमी आएको जनाएको छ ।कम्पनीले पेय पदार्थ, चिप्स, स्न्याक्सजस्ता खाद्यान्न रियो र क्विक ब्रान्डमा उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु