मिटरब्याजी जस्ता लघुवित्तः आत्महत्यादेखि घर छोडेर भाग्दै ऋणी
काठमाडौं । ‘तीन महिनाअघि मेरी ११ वर्षकी छोरीले आत्महत्या गरिन्,’रौतहटकी दिलकुमारी कार्कीले माइक्रोफाइनान्सको कार्यक्रममा एक्कासि आत्महत्याको प्रसंग जोडेपछि सबैको ध्यानाकृष्ट भयो ।
‘माइक्रोफाइनान्सबाट कर्जा लिएको थिएँ,जति तिर्दा पनि सकिएन । माइक्रोफाइनान्सका मान्छे बारम्बार कर्जा उठाउन घरमा आउने, तनाव दिने, रात–बिहान सधैँ तनाव दिने गरेको देखेपछि सहन नसकेर छोरीले आत्महत्या गरिन्,’ यसो भन्दै गर्दा उनका आँखाबाट बलिन्द्र आँसु बगिरहेका थिए । दर्शकदीर्घामा रहेकाहरु भावुक देखिए ।
कार्कीले भनेजस्तै लघुवित्तकै कर्मचारीले दिएको तनावका कारण उनकी छोरीले आत्महत्या गरेको विषय छुट्टै अध्ययन र अनुसन्धानको विषय हो । तर, लघुवित्त र लघुवित्तका कर्मचारीको कार्यशैली भने व्यावसायिक छैन, बरु अराजक नै छ ।
कार्कीले केही वर्षअघि मिटरब्याजी राधेश्याम शाह ४ लाख २६ हजार रुपैयाँ ऋण लिएकी थिइन् । तर, समयमा तिर्न नसक्दा विभिन्न बाहनामा मिटरब्याजीले भएभरको सबै सम्पत्ति खायो ।
सबै सम्पत्ति लुटाइसक्दा पनि १० तिर्न बाँकी देखियो । साहुसँग लिएको ऋण तिर्न नसक्दा सबै अचल सम्पत्ति गुमाएकी उनीबैंक तथा वित्तीय संस्थामा जाने विचारमा पुगिन् । त्यसैबेला लघुवित्त संस्था सम्पर्कमा आए ।
साहुले दिएको तनावबाट आक्रान्त उनलाई लघुवित्तका कर्मचारीको ‘ललिपप’ले थप लोभ्यायो । लघुवित्तबाट कर्जा लिएर हेरौं न त भन्ने लाग्यो । गाउँ पुगेका सबै लघुवित्तले सामूहिक जवानीमा ऋण लिन प्रेरित गर्दै गए ।
उनी लिँदै गइन् । ६वटा लघुवित्तले खुरुखुरी कर्जा दिए । तर, कुनै लघुवित्तले पनि उनको तिर्ने क्षमता छ कि छैन भन्ने हेरेनन् । उनले कर्जा पनि तिर्दै गइन् । तर, कहिल्यै सकिएन । गाउँको साहुबाट उम्किन खोजेकी उनलाई लघुवित्तको पासोमा परेको त्यसबेला मात्र महसुस भयो ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले सोमबार आयोजना गरेको ‘संकटमा लघुवित्त ः कारण र समाधान’ विषयक अन्तक्र्रियामा कार्कीले देब्रे हातले आँसु पुछ्दै भनिन्, ‘मर्नत मलाई पनि कहाँ मन नलागेको हो र ! तर, सानो छोराको अनुहार हेरेर सकिन ।’
‘साथमा छोरो छ, जस्तोसुकै समस्या आइपरेपनि समाधान गर्छु भनेर आफूलाई सम्हालेँ ।अहिले सहरमा झाँडा माझेर गुजारा गरिरहेकी छु, जति तिरेपनि नसकिने लघुवित्तको कर्जा तिरिरहेकी छु,’उनले यसो भनिरहँदा कार्यक्रम स्थलमा सन्नाटा छायो ।
कार्कीले लघुवित्तबाट ऋण लिँदाको सबै प्रक्रिया उनले बताइन् । लघुवित्तबाट १ लाख रुपैयाँ ऋण निकाल्दा ८५ हजार मात्रै हातमा परेको तर ब्याज भने १ लाख रुपैयाँकै तिर्नुपरेको गुनासो उनले गरिन् ।
‘जति तिरे पनि सकिएन, फर्वार्ड, मेरो माइक्रो, मिथिला, डिप्रोक्स र साना किसान लघुवित्तबाट लिएको कर्जा मैले तिरेँ,’ उनले भनिन्, ‘सबैको कर्जा तिरिरहेको छु तर जति तिरे पनि सकिएन । सावा, ब्याज केही पनि घटेन, यो गुनासो कसलाई सुनाउनु ?’ उनले भनिन् ।
कार्यक्रममा अरु धेरै ऋणीले लघुवित्तबाट ठगिएको गुनासो पोखे ।
पुनमकुमारी महतो, सिरहा, गोलबजार
माइक्रोफाइनान्सका कर्मचारी गाउँमा जान्छन् र सुरुमा समूह बनाउँछन् । विभिन्न प्रलोभनमा पारेर सुरुमा १० हजार ऋण दिन्छन् । साढे ६ सय सेवा शुल्क लिन्छन् ।
९ हजार ४५० रुपैयाँ लिएर हामी घरमा आउँछौं । साहुले दैनिक डेढ सय रुपैयाँ ब्याज लिएपछि त्यो थेग्न नसकेर लघुवित्तबाट कर्जा लिएको, त्यो झन् जति तिरे पनि सकिएन ।
मैले निर्धन र नेसनलबाट कर्जा लिएकी थिएँ । निर्धनको मुकेश भन्ने सर आफैँ मिटरब्याजमा पैसा लगाउँछन् । त्यहाँ खातुन भन्ने बैनी पनि छिन् । उनीहरु मेरो घरमा पनि आउने गर्थे । उनी पनि मिटरब्याजमा पैसा लगाउँछिन् ।
मैले हरेक महिना पैसा तिरेँ । तर, जति तिरे पनि सकिएन । कर्मचारी घरमा आएर अभद्र व्यवहार गर्छन् ।
एक दिन ढिला भयो भने पनि कि झुन्डिएर मर कि त मेरो घरमा काम गर्न आइज । जसरी तिरे पनि हाम्रो कर्जा तिर । शरीर बेचेर नै किन नहोस् हाम्रो कर्जा तिर भन्छन् ।
हामीचाहिँ नेपाली नागरिक होइन ? हामीलाई यो देशमा बस्ने हक छैन ? हाम्रा घरमा भएका वृद्धवृद्धाले लिने भत्ताको कागज पनि लगेर आफैँ पैसा लिने गरेका छन् ।
अहिले गोलबजारका गाउँमा लघुवित्तका कारण महिलालाई बस्ने सक्ने स्थिति छैन । मैले ऋण तिर्दादिर्दै पनि अझै ६५ हजार छ भन्छन् । जति तिरे पनि साँवा घटेन ।
श्यामकुमारी चौधरी, सिरहा, गोलबजार
मैले नेसनल लघुवित्तसँग ऋण लिएको थिएँ तर जति तिरे पनि सकिएन । १ लाख ऋण लिएको लामो समयसम्म पनि कर्जा तिर्दा अझै ६० हजार बाँकी छ ।
नेसनलका कर्मचारी कर्जा उठाउन भन्दै राति ८–९ बजे पनि घरमा आउँछन् । अभद्र व्यवहार गर्छन् । समयमा पैैसा तिर्न नसक्दा बाख्रा, भैँसी, गरगहना जे भेट्यो, त्यही उठाउने गरेका छन् ।
जति नै तिरे पनि नसकिएपछि अहिले म घर नै छाडेर भागेको छु ।
सुनिता विश्वकर्मा
लघुवित्तबाट मैले १ लाख ऋण लिएको थिएँ । तर, पटक–पटक साँवा–ब्याज तिर्दा पनि १ लाखकै ब्याज तिर्न लगाइरहन्छन् । संस्थाले कहिले पनि साँवा घटाउँदैन ।
कर्जा जति नै तिरे पनि सकिँदैन । बरु कर्जा नतिरको भन्दै माइक्रोफाइनान्सले गाई, भैंसी, गहना, बाख्रा सबै लगिसकेको छ । १ लाख कर्जा लिएको थिएँ । त्यसको साँवा–ब्याज गरी हरेक महिना १२ हजार तिर्ने गरेको थिएँ । वर्षमा १३ पटक किस्ता तिर्नुपरेको छ ।
उनलाई १०–११ वटा लघुवित्तले समूहमा राखेर कर्जा दिएका छन् ।
कमला मोक्तान, सिरुटार
मैले कोरोनाअघि स्वावलम्बन लघुवित्तबाट १ लाख ऋण लिएको थिएँ । एक लाख लिँदा ८५ हजार हात प¥यो । अहिलेसम्म तिरिरहँदा पनि साँवा अझै ४९ हजार तिर्न बाँकी छ भन्छन् ।
अर्को लक्ष्मी लघुवित्तबाट लिएको थिएँ । त्यहाँको पनि जति तिर्दा पनि सकिएन । मेरो बचत रकम पनि छ तर त्यसबाट घटाउन मान्दैनन् । साथीले लिएको पैसा पनि मलाई नै तिर्नु भन्छन् ।
साथीले स्वावलम्बन लघुवित्तबाट पनि कर्जा लिएको रहेछ । एक दिन स्वावलम्बनका कर्मचारी पैसा नतिरे पसल उठाउँछु भनेर आए । मैले जति किस्ता घटाए पनि उनीहरुको खातामा घट्दो रहेनछ ।
साथीले सूर्याेदय वमी लघुवित्तबाट पनि १ लाख ऋण लिएको रहेछ । १ लाख लिँदा १७ हजार ५०० संस्थाले राखेछ । २ हजार बचत गराएछ । तर, उनलाई १ लाखकै ब्याज लिने गरेको छ रे । लघुवित्तले सुरु–सुरुमा घर–घरमा आएर समूह बनाएर जबर्जस्ती कर्जा दिएको र अहिले ऋणीको उठिबास गराउन लागिपरेको छ ।
शिखा रेग्मी, गुल्मी
मैले ग्लोबल माइक्रोफाइनान्सबाट १ लाख कर्जा लिएकी थिएँ । त्यो सबै तिरिसकेँ । तर, संस्थाले तिरेको छैन भन्दै बचत फिर्ता गरेको छैन ।
अरुले लिएको ऋण पनि कि आफैँ तिर कि तिर्न लगा भन्छन् । अति नै तनावमा छु । मैले लिएको ऋण तिरिसकेँ । अरुले लिएको कर्जा नतिरे भैंसी, बाख्रा उठाउँछु । विदेशमा भएको बूढालाई निकालिदिन्छु भन्छन् । मेरो बचत रकम पनि फिर्ता दिएका छैनन् । मैले ७ वटा संस्थाबाट कर्जा लिएको छु । अधिकांशले किस्ता तिर्दा पनि साँवा घटाउने गरेका छैनन् ।
प्रिया खत्री, पनौती, काभ्रे
मलाई लघुवित्तले जबर्जस्ती फसाएको हो । ऋण चाहियो भनेर माग्न गएको थिइन । पहिला समूहमा बस्न कर गरे । अनि ऋण लिनु राम्रो हुन्छ भने । लिएपछि त तिर्नैप¥यो । आम्दानीको स्रोत थिएन ।
पहिला १ लाख ऋण लिँदा ९५ हजार दिन्छु भने । पछि ८५ हजार मात्रै दिए । ब्याज १ लाखको लिन्छन् ।’ मैले मिरमिरे र स्वावलम्बनबाट कर्जा लिएको छु । एउटाको साँवा ब्याज तिर्न अर्कोबाट लिनुपर्ने स्थिति आयो ।
लघुवित्तले तिर्ने स्रोत नहेरी ऋण दिन्छन् । यसले पनि समस्या बढाएको मैले महसुस गरेकी छु । माइक्रोफाइनान्सको ज्यादती अति नै छ । कर्जा लिएका ५८ लाख महिलालाई एकै ठाउँमा राखेर बम हान सरकार । अब हामी बाँच्न सक्दैनौ । घर–परिवार, लघुवित्त र समाजको तनाव बोकेर बाँच्न सक्दैनौँ ।