अध्यक्ष र सञ्चालकका लागि कुन बैंकले कति गरे खर्च ?



काठमाडौं । बैंकका सञ्चालकहरुले बैंकबाट तलब पाउँदैनन्, तर भत्ता लगायत विभिन्न शीर्षकमा भने करोडौ रुपैयाँ लिन्छन् ।

प्राय: सबै बैंकले अध्यक्ष र सञ्चालक समितिका सदस्यलाई बैठक अनुसार भत्ता दिन्छन् । सञ्चालकलाई मासिक रुपमा पत्रपत्रिका, टेलिफोन, इन्धन, इन्टरनेटका लागि पैसा दिन्छन् । कतिपय बैंकले सञ्चालकलाई मोबाइल सेटसमेत दिने गरेका छन।

सञ्चालकले बैठकबाट लिएको भत्ताको आयकर ऐनले गरेको व्यवस्था अनुसार कर तिर्छन् । बैंकका अध्यक्षले न्यूनतम ४ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

यस्तै सञ्चालक समितिको सदस्यले न्यूनतम ४ हजारदेखि १६ हजारसम्म भत्ता लिने गरका छन् । भत्ताका हिसाबले हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंकले सञ्चालकलाई २० प्रति बैठक भत्ता २० हजार दिने गरेका छ्न् ।

यस्तै सदस्यमा सबैभन्दा बढी हिमालयन, एनआईसी एशिया, एनएमबि बैंकले १६ हजार दिने गरेको छ । केही बैंकका सदस्यले लिने बैठक भत्ता केही बैंकको अध्यक्षको भन्दा पनि बढी रहेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले गत आवमा बैठक भत्ता बापत अध्यक्षलाई १६ हजार र सञ्चालकलाई १४ हजार रुपैयाँ भुक्तानी दिएको छ । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई टेलिफोन तथा पत्रपत्रिकाका लागि मासिक ८ हजार उपलब्ध गराइएको जनाएको छ ।

गत आवमा बैंकले बैठक भत्ता बापत ५८ लाख ५० हजार र अन्य खर्च सहित ५९ लाख ९ हजार ५९३ रुपैयाँ सहित १ करोड १७ लाख ५९ हजार ५९३ रुपैयाँ खर्च गरेको छ ।

नबिल बैंक

नबिल बैंकले गत आवमा सञ्चालक समितिलाई बैठक भत्ता बापत ६५ लाख ३० हजार १७० रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै भ्रमण खर्च, बसोबास खर्च तथा अन्य खर्चहरु ३३ लाख २५ हजार ४२५ रुपैयाँसहित ९८ लाख ५५ हजार ६२२ रुपैयाँ खर्च गरेको जनाएको छ । बैंकले भत्ता बापत प्रति बैठक २० हजार र सञ्चालक समितिका सदस्यलाई १५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

इन्भेष्टमेण्ट बैंक

नेपाल इन्भेष्टमेण्ट बैंकले संचालक समितिको अध्यक्षलाई प्रति बैठक भत्ता १५ हजार रुपैयाँ दिने गरेको छ । यस्तै सदस्यलाई १२ हजार रुपैयाँ दिएको छ । बैंकले गत आर्थिक वर्षमा अध्यक्षलाई बैठक भत्ता २ लाख ८५ हजार र मासिक ५० लिटर ईन्धन दिएको छ । यस्तै संचालक समितिको अन्य सदस्यहरुले बैठक भत्ता प्रतिबैठक १२ हजार पाएका छन् । गत आर्थिक वर्ष बैंकले सञ्चालकलाई कुल बैठक भत्ता २४ लाख ७६ हजार र मासिक प्रति संचालक ५० लिटर ईन्धन दिएको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले सञ्चालक समितिका अध्यक्षलाई बैठक भत्ता बापत प्रति बैठक १७ हजार तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता बापत १५ हजारा रुपैयाँ दिएको छ ।

यस्तै र उप-समितिमा सहभागी सञ्चालक समितिका सदस्यहरुलाई १५ हजार बैठक भत्ता र सञ्चालकहरुलाई पत्रपत्रिका तथा यातायात सुविधा वापत मासिक १० हजार दिएको छ ।

यो अवधिमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता १६ लाख ७८ हजार र सञ्चालक समितिको उप–समितिका सदस्यहरुलाई बैठक भत्ता बापत ८ लाख १० हजार रुपैयाँ भत्ता दिएको छ । बैंकले बैठकमा २४ लाख ४६ हजार ९० रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले गत आवमा सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १५ हजार र अन्य सञ्चालकलाई प्रतिबैठक भत्ता १४ रुपैयाँ दिएको छ । गत वर्ष बैंकले सञ्चालक समितिलाई बैठक भत्ता बापत ५३ लाख ३२ हजार ५७१ रुपैयाँ खर्च गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैकले सञ्चालक समितिका अध्यक्षलाई प्रतिबैठक भत्ता बापत १५ हजार र सञ्चालकलाई १३ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले यस बाहेक प्रति महिना मोवाइल फोन खर्च शोधभर्ना बापत ५ हजार र बैठक स्थल भन्दा बाहिरका सञ्चालकलाई सञ्चालक/संचालक स्तरीय समितिको बैठकमा भाग लिन आउन/जानका लागि भ्रमण खर्च सोधभर्ना उपलव्ध गराएको जनाएको छ ।

नेपाल बैंक

नेपाल बैंकले आर्थिक वर्ष २०७८/०७९ मा बैठक भत्ता बापत सञ्चालकलाई १७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । अध्यक्ष र सञ्चालकलाई ४ हजार रुपैयाँका दरले दिने गरेको छ ।

अध्यक्ष र सदस्यलाई पत्रपत्रिका खर्च बापत मासिक २ हजार र सञ्चार सुविधा बापत मासिक ५ हजार र एक सेट मोबाइल फोन समेत दिने गरेको छ । यस्तै कार्यालयको सवारी साधान प्रयोग नगरेको खण्डमा प्रति बैठक २ सय परिवहन खर्च दिएको जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले सञ्चालकलाई बैठक भत्ता बापत १७ लाख ७७ हजार र अन्य भ्रमण, पत्रपत्रिका, अन्य समितिका बैठक खर्च र अन्य खर्च बापत जम्मा ४१ लाख ७८ हजार ९०७ रुपैयाँ खर्च गरेको छ । बैंकले प्रति बैठक भत्ता बापत अध्यक्षलाई १८ हजार र सञ्चालकलाई १४ हजार रुपैयाँ दिएको छ ।

सिटिजन्स बैक

सिटिजन्स बैकले सञ्चालक समितिका अध्यक्ष र सञ्चलकलाई बैठक भत्ता बापत गत आवमा २५ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा टेलिफोन बापत १ लाख ६८ हजार, इन्धन बापत ४ लाख ७६ हजार ९९४ पत्रपत्रिका बापत २ लाख ५२ हजार रुपैयाँ थप खर्च गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले गत आर्थिक वर्षमा सञ्चालकलाई बैठक भत्ता बापत मात्रै ३४ लाख २० हजार खर्च गरेको छ । जसमा टेलिफोन तथा मोबाइल खर्च १ लाख ९३ हजार १८५, विविध १६ लाख ९१ हजार २७१ रुपैयाँसहित ५३ लाख ४ हजार ४५६ रुपैयाँ खर्च गरेको छ । बैंकले सञ्चालक समितिको अध्यक्षलाई प्रति बैठक भत्ता २० हजार र सञ्चालकलाई १६ हजार रुपैयाँ दिएको छ ।

सिभिल बैंक

सिभिल बैंकले गत आवमा संचालक समितिका अध्यक्षलाई बैठक भत्ता बापत १६ हजार र संचालकलाई १३ हजार रुपैयाँ दिएको छ । साथै अध्यक्ष तथा संचालकहरुलाई पत्रपत्रिका तथा टेलिफोन/मोबाईल भत्ता बापत एकमुष्ट १३ हजार प्रतिमहिना भुक्तानी गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले गत आवमा सञ्चालक समितिका अध्यक्षलाई बैठक भत्ता बापत प्रतिबैठक भत्ता १२ हजार र सदस्यलाई १० हजार रुपैयाँका दरले भत्ता दिएको छ ।

साथै सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई संचार तथा पत्रपत्रिका सुविधा वापत मासिक १२ हजार रुपैयाँ दिएको जनाएको छ । सञ्चालकहरुलाई गत आवमा बैंकले संचार तथा पत्रपत्रिका सहित ३५ लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत आवमा सञ्चालक समितिलाई बैठक बापत ३३ लाख २० हजार ४९२ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले भत्ता बापत अध्यक्षलाई १८ हजार र सञ्चालकलाई १५ हजार ५ सय रुपैयाँ दिएको छ ।

मेगा बैंक

मेगा बैंकले सञ्चालकलाई बैठक भत्ता बापत गत आवमा ५० लाख ५ हजार ६०५ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । यस्तै मोबाईल तथा पत्रपत्रिका खर्च वापत १० लाख ५८ हजार ४०० सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले गत आवमा सञ्चालक समितिलाई भत्ता बापत १ करोड २ लाख ८८ हजार रुपैयाँ र सञ्चालक समितिको अन्य खर्च बापत १७ लाख ५२ हजार २८ रुपैयाँ खर्च गरेको छ । सञ्चालकलाई बैठक भत्ता मात्रै ६२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

गत आवमा बैंकले ६० वटा बोर्ड बैठक गरेको छ । बैंकले सञ्चालक समिति अध्यक्षलाई प्रति बैठक बापत २० हजार रुपैयाँ र सदस्यलाई १६ हजार रुपैयाँ भुक्तानी दिगरेको छ । सञ्चालकहरुलाई मासिक भत्ता (पत्रपत्रिका तथा टेलिफोन/मोबाइल भत्ता वापत) अनुरुप १४ लाख ३९ हजार ७०६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले गत आवमा संचालक समितिलाई बैठक भत्ता बापत ९ लाख २४ हजार रुपैयाँ भुक्तानी गरेको छ । गत आवमा १४ वटा संचालक समितिको बैठक बसेको जनाइएको छ । बैंकले संचालक समितिका अध्यक्ष तथा अन्य संचालकलाई प्रति बैठक भत्ता क्रमशः १८ हजार १६ हजार दिएको छ ।

प्रभु बैंक

प्रभु बैंकले गत आवमा सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता बापत १२ हजार र सञ्चालक सदस्यलाई १० हजार रुपैयाँ भुक्तानी गरेको छ । यस बाहेक सञ्चालक समितिका अध्यक्षलाई टेलिफोन, मोवाइल तथा पत्रपत्रिका खर्च बापत प्रति महिना ११ हजार र सञ्चालक सदस्यहरुलाई प्रति महिना १० हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले गत आवमा भत्ता बापत ४९ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

प्राइम बैंक

प्राइम बैंकले गत आवमा सञ्चालकलाई ३० लाख ३० हजार रुपैयाँ भत्ता दिएको छ । सञ्चालक समितिको सदस्यलाई टेलिफोन, मोबाइल, पत्रपत्रिका तथा अन्य खर्च बापत १६ लाख ९६ हजार ३०२ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १३ हजार र संचालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ उपलब्ध गराएको छ । त्यस बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र-पत्रिका, टेलिफोन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक १२ हजार उपलब्ध गराउने भएको छ । आव २०७८/७९ मा बैठक भत्ता बापत ३५ लाख ७८ हजार भुक्तानी गरिएको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंक सञ्चालक समितिकी अध्यक्ष जरिन दारुवालालले कुनै पनि सञ्चालक समितिको बैठक भत्ता लिएकी छैनन् ।

आर्थिक वर्ष २०७८/०७९ मा बैंकको सञ्चालक समितिको १५ वटा बैठक बसेको छ । अध्यक्षले भत्ता नलिएको भएपनि कृष्ण कुमार प्रधानले १२ वटा बैठकमा सहभागी भएर २ लाख ७४३ हजार र भरत कुँवरले १५ वटा बैठकमा सहभागी भएर ३ लाख ३६ हजार रुपैयाँ भत्ता लिएका छन् ।

नेपाल एसबीआई बैंकले गत आवमा सञ्चालक समितिका सदस्य, समितिका उप समितिहरुको बैठक भत्ता बापत ६ लाख ४० हजार खर्च भएको छ । अध्यक्षले प्रति बैठक भत्ता बापत १२ हजार ५०० र अन्य सञ्चालकले १० हजार भुक्तानी लिर्ने व्यवस्था गरेको छ ।

बैंकका अनुसार भारतीय स्टेट बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्ष तथा सञ्चालकलाई बैठक भत्ता दिइएको छैन । एसबिआईले पठाएका व्यवस्थापन समूहका पदाधिकारीहरुले भने तलब तथा भत्ता प्राविधिक सेवा सम्झौता बमोजिम भारतीय स्टेट बैंकले नै भुक्तानी गरेको जनाइएको छ । नेपाली सञ्चालकले मात्रै भत्ता लिएका छन् ।


सोभित थपलिया