रेमिट्यान्स, निर्यात र पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै अर्थतन्त्र बलियो: गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स,निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स,निर्यात र पर्यटन तीनवटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताए ।

सरकारले रेमिट्यान्स भित्र्याउने,नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीनवटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको गोल्छाको भनाइ छ ।

अर्थतन्त्रको तीनवटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गर्दै गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

बैकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको उनको भनाइ थियो । अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन गोल्छाले सुझाव दिए ।

नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौति भएको उल्लेख गर्दै सरकारले निर्यात प्रोत्साहनको लागि नगद अनुदानको व्यवस्था गरे पनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको गुनासो उनले गरे ।

नेपालमा कस्ट अफ डुईङ विजनेस बढीरहेकाले नेपाली निर्यातजन्य वस्तुहरुलाई प्रतिष्पर्धी बनाउन नसकिएको उनको भनाइ छ । निर्यातकर्तालाई सरकारले दिने अनुदान सहज रुपमा पाउनको लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको उनले बताए ।

निर्यात परिषद्ले २५ औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा शुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्थलहरु राखिएको छ ।


क्लिकमान्डु