विराटनगरका सडक किनारा र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन शुरु



विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिएको छ ।

नियमविपरीत पसलअगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनारा र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको छ । नगर प्रहरी र सफाइका कर्मचारीले विराटनगर महानगरपालिकाकका मेयर नागेश कोइरालाको निर्देशनमा निर्माण सामग्री हटाउन शुरु गरेका हुन् ।

सरसफाइ शाखा र नगर प्रहरीको समन्वयमा मंगलबारदेखि विराटनगरका विभिन्न सडक किनार र फुटपाथमा राखेका सामग्री हटाउन थालेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–८ स्थित धर्मबाँध रोडमा राखिएका बालुवा, गिट्टी, इँटा र टाली हटाइएको छ । महानगरको जेसीवीले ट्रयाक्टर र ट्रकमा राखेर महानगरले फुटपाथबाट निर्माण सामग्री उठाएको छ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर कोइरालाले बताए । उनले सबैको साथ र सहयोगले विराटनगर सफासँगै व्यवस्थित बनाउने दाबी गरे । ‘विराटनगरलाई सफा र व्यवस्थित बनाउने महानगरको अभियानमा हामी कसैसित पनि सम्झौता गर्दैनौं,’ महानगरका मेयर कोइरालाले भने, ‘यो अभियानमा महानगरवासीको पूर्णसाथ रहन्छ पक्कै पनि ।’

निर्माण सामग्री हटाउन महानगरले सार्वजनिक सूचना निकाल्नुका साथै धेरै पटक माइकिङसमेत गरिसकेको छ । महानगरको सूचनालाई बेवास्ता गरेर आवतजावतलाई नै असर पर्ने गरी राखिएका निर्माण सामग्री हटाइएको नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

फूटपाथ र सडक–किनाराका सामग्री हटाउनु अति जरुरी थियो, त्यो काम ढिलै भएपनि शुरु भएको स्थानीय राजजनम यादवले बताए यो राम्रो काम भएको र यसलाई हामी सबैले सहयोग गर्नु हाम्रो कर्तव्य हो भन्छन् विराटनगर हिमालय रोडका पुस्तक व्यवसायी माधव अधिकारी ।

काम सुरु गर्नु ठूलो कुरा होइन, निरन्तरता चाहिन्छ भन्छन् उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेल । विगतमा पनि सुरुमा यस्तै लोकप्रिय कामको सुरु भएर बीचमै छाडिएका प्रशस्त्र उदाहरणहरु रहेको उनले बताए ।

यसअघि महानगरपालिकाले नियमविपरीत तथा मापदण्ड मिचेर बनाइएका विराटनगर बजारका संरचनाहरू भत्काउने काम गरेको थियो ।

लामो समयदेखि फूटपाथ र सडक–किनारामा सामग्री राखेर व्यापार व्यवसाय गर्दा यात्रुलाई आवतजावतमा निकै सास्ती थियो । जसका कारण यात्रुहरू सडकबाटै हिंड्न बाध्य थिए । यसअघिका मेयर भीम पराजुलीले यस्ता सानो तर सहरलाई सफा र सुन्दर बनाउने महत्वपूर्ण काममा उतिसारो ध्यान केन्द्रित गर्न सकेका थिएनन् भन्छन् नगरवासीहरू ।


क्लिकमान्डु