प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पुस २६ गते लिनेबारे संसद् सचिवालयलाई जानकारी गराइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र पठाउँदै आफू पुस १० गते प्रधानमन्त्री नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रवधान भएअनुरुप पुस २६ गतेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा उक्त विषय समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा छन् ।

सरकार गठनका लागि प्रचण्डले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुका १६९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।


क्लिकमान्डु