देशभर केवलकारको ओइरो, २४ अर्ब लगानीमा कहाँ-कहाँ बन्दैछन् ?



काठमाडौं । पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न स्थानमा निजी क्षेत्रका व्यवसायीहरुले केवलकार बनाउने कार्यलाई तीब्ररुपमा अगाडि बढाएका छन् । एक दशकअघिसम्म देशभर एक स्थानबाहेक अन्य ठाउँमा केवलकार निर्माण हुन सकेको थिएन ।

नेपालमा केवलकारको इतिहास बोकेको मनकामना केवलकार निर्माण भएको करिब दुई दशकपछि मात्रै अर्को केवलकार बनेको पाइन्छ । तर, पछिल्ला केही वर्षयता भने केवलकार निर्माण क्षेत्रमा लगानी ओइरिएको छ । समग्रमा तथ्याङ्क हेर्दा करिब एक दशकको अवधिमा देशभर दर्जन बढी केवलकार थपिएका छन् ।

नेपालमा अहिले विशेषगरी चारवटा स्थानमा केवलकार सञ्चालनमा छन् । नेपालमा पहिलो पटक वि.सं २०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो ।

चितवन जिल्लाको कुरिनटारको चेरेसबाट गोरखा जिल्लाको मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो लम्बाईमा निर्माण भएको मनकामना केबलकारमा प्रत्येक वर्ष हजारौं पर्यटक तथा भक्तजनहरु पुग्ने गर्छन् ।

केबलकारमा ३४ वटा गोन्डोला छन् भने प्रत्येक गोन्डोलाबाट एक पटकमा ६ जना पर्यटकले यात्रा गर्न सक्ने व्यवस्था छ ।

मनकामना केबलकार बनेको १७ वर्षपछि सञ्चालनमा आएको अर्को केवलकार हो, चन्द्रगिरी केवलकार । उपत्यकाभित्रै निर्माण भएको केवलकार २०७३ सालबाट सञ्चालनमा आएको थियो ।

२.५ किलोमिटर लम्बाईमा निर्माण भएको केबलकारमा ३८ वटा गोन्डोला छन् । जसमा प्रति गोन्डोलाबाट एक पटकमा ८ जनाले यात्रा गर्न सक्नेछन् । उक्त गोन्डोलाबाट प्रतिघण्टा १ हजार मानिसले यात्रा गर्न सक्नेछन् । त्यसैगरी, चन्द्रगिरीमा पर्यटकले केबलकारको यात्रासँगै जीपलाइनलगायत होटलको पनि व्यवस्था छ ।

त्यस्तै, आन्तरिक तथा विदेशी पर्यटकका लागि धार्मिक पर्यटकीय क्षेत्र कालिन्चोकमा २०७५ सालदेखि केवलकार सञ्चालनमा आएको छ । २.५ किलोमिटर लम्बाईमा निर्माण भएको केबलकारमा ४ वटा गोन्डोला छन् । प्रत्येक गोन्डोलाबाट एक पटकमा ८ जनाले यात्रा गर्न सक्नेछन् ।

त्यसैगरी, गत वर्षमात्रै सञ्चालनमा आएको अर्को केवलकार हो अन्नपूर्ण केवलकार । पर्यटकीय नगरी पोखराको सेदीमा रहेको अन्नपूर्ण केबलकार गत माघबाट सञ्चालनमा आएको हो । करिब २ अर्ब लगानीमा निर्माण भएको केबलकारमा १७ वटा गोन्डोला छन् ।

सेदी बगरदेखि साराङ्कोटसम्म २.३ किलोमिटर लम्बाइमा निर्माण भएको केबलकारले सञ्चालनमा आएको ५ महिनामै ९० हजार १६३ जनाले केवलकारबाट यात्रा गरेका छन् । त्यसमध्ये २० हजार ७७६ जना विदेशी पर्यटकले केवलकारको यात्रा गरेको कम्पनीको भनाइ छ।

देशभर सञ्चालनमा रहेका यी चारवटा केवलकारले अहिले दैनिक रुपमा पर्यटकबाट राम्रो आम्दानी गरिरहेका छन् । विदेशी तथा आन्तरिक पर्यटकको रोजाइमा पर्ने केवलकार आगामी विभिन्न स्थानमा सञ्चालनमा आउने तयारी भइरहेको छ । साथै, आगामी ५ वर्षको अवधिमा देशभर केवलकारको संख्या दर्जन बढी पुग्ने देखिन्छ ।

देशभर २४ अर्ब लगानीमा १० वटा केवलकारले निर्माण स्वीकृत लिएका छन् । उक्त केवलकार आगामी ५ वर्षभित्रमा निार्मण सम्पन्न भई सञ्चालनमा आउनेछन् ।

कुन-कुन ठाउँमा आउँदैछन् ?

सिक्लेश अन्नपूर्ण केवलकार

कास्की जिल्लाको मादी गाउँपालिकामा ६.४१६ किलोमिटरको सिक्लेश अन्नपूर्ण केवलकार निर्माणको तयारी छ ।

मादी गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर १ मा ६.४१६ किलोमिटर लामो केवलकार बन्ने भएको हो । यसका लागि सिक्लेश अन्नपूर्ण केवलकार प्रालिले केवलकार निर्माण लागि प्रस्ताव पेस गरेको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ अन्तर्गतको सिक्लेश गाउँको प्वरयुम भन्ने ठाउँमा तल्लो स्टेशन र मादी गाउँपालिका वडा नम्बर २ अन्तर्गतको धर्मशाला नजिकैको तसल्इमा बीचको स्टेशन र मादी गाउँपालिका वडा नम्बर २ अन्तर्गतको कोरी डाँडामा माथिल्लो स्टेशन रहने गरी ६.४१६ किलोमिटर लामो केवलकार बन्ने भएको हो ।

कम्पनीले मानोकेबल डेटाचेबल गोन्डोला प्रकारको केवलकार निर्माण गर्ने जनाएको छ । जसमा माथिल्लो स्टेशन र तल्लो स्टेशनबीच १७८५ मिटरको उचाई भिन्नता रहनेछ ।

केबलकारमा ६० वटा गोन्डोलको संख्या हुनेछ । कम्पनीअनुसार अधिकतम प्रतिदिन ६ हजार जनाले केवलकार प्रयोग गर्न सक्नेछन् । जसमा केबलकारको समय अवधि २५ मिनेटको हुनेछ ।

माथिल्लो स्टशेन र बीचको स्टेशन बीचको उचाई १०८५ मिटरको हुने प्रस्ताव पेस भएको छ । साथै, तल्लो स्टेशन र बीचको स्टेशन बीचको उचाई भने ७०० मिटरको भिन्नता हुनेछ ।

त्यसैगरी, केबलकारको दायाँ र बाँया भाग कुल १०/१० मिटरको दूरीमा बन्ने भएको छ । जसमा केन्द्र भागबाट १० मिटर दायाँ र १० मिटर बायाँको हुनेछ ।

कम्पनीले स्वदेशी तथा विदेशी पर्यटक लक्षित केवलकार निर्माण गर्ने जनाएको छ । कम्पनीले मादी गाउँपालिकामा ३० वटा टावसहितको केवलकार निर्माण गर्नेछ ।

३ वर्ष ५ महिनामा निर्माण गर्ने सक्ने कम्पनीको लक्ष छ । पूर्वनिर्माण अवधि एक वर्ष, वित्तीय व्यवस्थापन अवधि १ वर्ष र निर्माण अवधि १ वर्ष ५ महिना लाग्ने कम्पनीको भनाइ छ । साथै, कम्पनीले ३० वर्षको सञ्चालन अवधि तोकेको छ ।

केवलकार निर्माण गर्न ६ अर्ब ९० करोड ३७ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान कम्पनीको छ । साथै, केवलकार निर्माण गर्ने क्रममा ६०० जना र सञ्चालन चरणमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउँनेछन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा अवस्थित यस आयोजनाका सम्पूर्ण संरचनाहरुको निर्माण गर्दा करिब २७.९९ हेक्टर जमिन आवश्यक रहेको कम्पनीको भनाइ छ । जसमध्ये तल्लो स्टेशनको लागि ७.४६ हेक्टर, बीचको स्टेशनको लागि २.०४ हेक्टर र माथिल्लो स्टेशनको लागि ५.७६ हेक्टर र टावर र रोको लागि १२.७३ हेक्टर आवश्यक रहेको छ ।

जालपादेवी केवलकार

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक केवलकार बन्ने भएको छ । कैलाली जिल्लाको लम्किचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा जालपादेवी केवलकार आयोजना बन्ने भएको हो ।

कम्पनीले केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । उक्त प्रतिवेदनअनुसार कम्पनीले कैलाली जिल्लाको लम्किचुहा नगरापलिका वडा नम्बर ३, चिसापानीमा तल्लो स्टेशन र मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडामा माथिल्लो स्टेशन रहने गरी जालपादेवी केवलकार आयोजना प्रस्ताव गरेको छ ।

कम्पनीले सो आयोजनाअन्तर्गत केवलकारको दुईवटा स्टेशनसँगै होटल तथा रिसोर्टसहित निर्माण गर्ने जनाएको छ ।

कम्पनीले आयोजनाले माथिल्लो स्टेशनमा १ सय कोठाको भुइतल्लासहित ५ तल्ले र तल्लो स्टेशनमा ५० कोठाको भुई तल्लासहित ४ तल्ले सुविधा सम्पन्न होटल निर्माण गर्नेछ ।

माथिल्ला र तल्लो स्टेशनहरूमा निर्माण तथा सञ्चालन गरिने होटलहरूको निर्माण क्षेत्र क्रमशः ६३४८ वर्गमिटर र ४१२५ वर्गमिटर रहने छन्।

कम्पनीका अनुसार सो क्षेत्रमा ३.१ किलोमिटर लामो केवलकारको तल्लो स्टेशन लम्किचुहा नगरपालिका वडा नम्बर ३ चिसापनाीमा र माथिल्लो स्टेशन मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडामा रहनेछ ।

सो क्षेत्रमा मोनो केबल डाटाचेवल ग्रिप टाइप कन्टिनिउसली सर्कुलेशन गोन्डोला प्रकारका केवलकार सञ्चालन हुने जनाएको छ।

कम्पनीले केवलकार आयोजनाको टर्मिनल बीचको स्तर भिन्नता करिब ८०६.८४ मिटरको हुने उल्लेख गरेको छ । त्यस्तै, कम्पनीले बक्सको संख्या ३४ र प्रति बक्सको क्षमता ८ रहेको छ । साथै, केबलकारको क्षमता प्रतिदिन ६ हजार रहेको छ ।

यस आयोजनाको निर्माण अवधि करिब ३ वर्ष अनुमान गरिएको छ । कम्पनीले सो केवलकार आयोजना निर्माणका लागि २ अर्ब ६४ करोड २२ लाख २४ हजार रुपैयाँ लागतमा निर्माण गर्ने अनुमान गरेको छ ।

कम्पनीले माथिल्लो स्टेशनमा रहेको होटल, स्टेशन र कन्फरेन्स हल गरी ९५ करोड १० लाख ८० हजार खर्च हुने उल्लेख छ । जसमा होटलका लागि ७४ करो ७१ लाख ५९ हजार, स्टेशनका लागि १५ करोड २८ लाख ८१ हजार कन्फरेन्स हलका लागि ५ करोड १० लाख ३९ हजार लागत अनुमान गरेको छ ।

त्यसैगरी, तल्लो स्टेशनमा पनि होटलका लागि ४४ करोड २४ लाख ४५ हजार रुपैयाँ, स्टेशनमा १५ करोड ७३ लाख ३२ हजार रुपैयाँ र कन्फरेन्स हलमा ४ करोड ६३ लाख ८४ हजार रुपैयाँ गरी ६४ करोड ६१ लाख ६२ हजार लागतको अनुमान गरेको छ ।

साथै, केवलकारका लागि मात्रै १ अर्ब ४ करोड ५० लाख रुपैयाँ लागतको अनुमान गरेको छ ।

बन्दीपुर केवलकार

बन्दीपुर केबल कार प्रालिले तनहुँ जिल्लाको बन्दीपुरमा केबलर कारको आयोजनासँगै होटलको निर्माण गर्ने भएको छ ।

कम्पनीले दुई चरणमा आयोजना अगाडि बढाएको छ । पहिलो चरणमा केबल कार, रेष्टुरेन्ट, होटल बिलल्डिङ स्टक्चर निर्माण गर्नेछ । दोस्रो चरणमा भने बन्दीपुरको केवलकारको हिलटपमा चार तारे होटलको निर्माण कार्य समापन गर्नेछ ।

पहिलो चरणको आयोजना २०२३ को अप्रिलसम्ममा सम्पन्न हुने अनुमान गरेको छ । फेब्रअरी २०२२ सम्ममा आर्थिक प्रगति ७६ प्रतिशत भइसकेको थियो । अहिले केबलर कारका लागि टावर जडानको काम अन्तिम चराणमा पुगेको छ भने टावरको पूर्ण जडानपछि डोरी तान्न शुरु हुने कम्पनीले जनाएको छ । हाल आयोजना चरणबद्ध रुपमा निर्माण भइरहेको कम्पनीको भनाइ छ।

सुरुमा १ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले लागत बढेर २ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनुमान लागत पुगेको छ । कम्पनीका अनुसार कम्पनीको लागत बढ्नुको मुख्य कारण कम्पनीले परियोजनाको दायरा परिवर्तन रहेको जनाएको छ । साथै,कोभिड–१९ महामारीको बीचमा केही समय ओभररनसँग जोडिदा लागत बढ्न गएको कम्पनीको भनाइ छ ।

कम्पनीले प्रतिघण्टा १९२ देखि ५०० जना यात्रु यात्रा गर्न सक्ने क्षमता रहेको जनाएको छ । जनवरी २०१३ मा स्वीकृति पाएको कम्पनीले केवलकारसँगै होटलको सुविधा प्रदान गर्नेछ । कम्पनीले केबल कारको सहायताबाट बेस स्टेशनबाट टप स्टेशन पु¥याउने सुविधा प्रदान गर्ने भने दोसे लजिङ र हस्पिटालिटीको सुविधा प्रदान गर्नेछ ।

केवलकारमा १९ वटा गोन्डोला रहनेछ । जसमा दुई वटा सामग्री बोक्ने, दुई वटा साहसिक पर्यटक चढ्नका सिसैसिसको क्याबिन र बाँकी १५ वटा गोन्डोला पर्यटहकहरु ओसारपसार गर्न प्रयोग हुनेछ ।

लुम्बिनी केबलकार

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

करिब ३ किलोमिटर लामो केवलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

कम्पनीले ९ वटा टवारसहित केवलकार निर्माण गर्नेछ । केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए । जसमा कम्पनीले ३ अर्ब ५२ करोड लागत अनुमान गरेको छ ।

केवलकार ३ किलोमिटर लम्बाइको हुनेछ । केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जनाइएको छ ।

वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहने छ । केबलकारमा १७ वटा गोन्डोला हुनेछ भने एक डिब्बामा ८ जना चढ्न सकिन्छ।

मौलाकालिका केवलकार

पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्नका लागि केवलकार निर्माण भइरहेको छ । नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. १ देखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो ।

स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले केवलकार निर्माण गरिरहेको छ ।

कम्पनीअनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्नेछ । एक किलोमिटर दुई सय मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला रहने छन् । एउटा गोन्डोलामा ८ जना अट्नेछन् ।

केवलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ ।

केवलकार सम्पन्न गर्न १ अर्ब ५० करोड लगानी खर्च हुने अनुमान गरेको छ । सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिनेछन् ।

चम्पादेवी केवलकार

ईको फ्रेण्डली कम्पनी प्रालिले काठमाडौंको दक्षिणकालीमा रहेको चम्पादेवीमा केवलकार बनाउने भएको छ ।

सर्बोच्च अदालतले निर्माणको बाटो खोलेपछि दक्षिणकाली नगरपालिकाले २०७६ साल बैशाख ६ गते निर्माणको अनुमति दिएको थियो ।

निर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपाल बाहिर विभिन्न देशमा वस्ने भएको हुँदा निज जग्गाधनीहरुलाई सम्पर्क गरि निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

खहरे चोक देखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेशनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वे को सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन-१ र २ सर्भेको काम काम अगाडि बढाएको छ ।

कम्पनीको लागत ५ देखि ६ अर्बसम्म लाग्ने अनुमान गरिएको छ । कम्पनीले यसको लागि विदेशी लगाउनी भित्र्याउने र २०८१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

काठमाडौं दुई ठाउँमा केवलकार

काठमाडौं उपत्यकाका २ ठाउँमा केवलकार निर्माणका लागि तयारी गरिएको छ । केवलकार निर्माणका लागि दुई कम्पनीले उद्योग विभागमा आवेदन दिएका हुन् ।

जसअनुसार एउटा केवलकार ललितपुरको फुलचोकीमा निर्माण हुनेछ भने अर्को केवलकार नागार्जुनमा निर्माण हुनेछ । शतप्रशित स्वदेशी लगानी रहेका दुबै कम्पनीले उद्योग विभागमा लगानी गर्नका लागि प्रतिबद्धता जनाएका हुन् । अब यी कम्पनीहरुले सम्भाव्यता अध्ययन, डीपीआर गरी निर्माण सुरु गर्नेछन् ।

फुलचोकी केवल कार प्रालिले निर्माण गर्ने भनिएको केवलकार ललितपुरको गोदावरीमा निर्माण हुनेछ । जसका लागि ६६ करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ ।

कम्पनीले ११ लाख ३७ हजार ५ सय जना मानिसलाई सेवा दिने उल्लेख गरेको छ ।

त्यसैगरी नागार्जुनमा निर्माण हुने भनिएको केवलकार ‘भ्यू नागार्जुन केवलकार प्रालि’ कम्पनीका रुपमा रहनेछ । कम्पनीमा ६६ करोड रुपैयाँ लगानी लाग्नेछ भने ६८ जनाले जागिर पाउने उल्लेख गरिएको छ ।

कम्पनीले ११ लाख २० हजार जना मानिसलाई सेवा दिने लक्ष्य लिएको छ । यो केवलकारको माथिल्लो स्टेसन नागार्जुन नगरपालिका वडा नम्बर १ पाँचलमा रहनेछ भने तल्लो स्टेशन जाम्चीमा रहने उल्लेख गरिएको छ । उक्त केवलकार पनि ६६ करोड निर्माण हुनेछ ।

सिद्धार्थ केवलकार

रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका वडा नं १ मा सिद्धार्थ केवलकार बन्ने भएको छ । १५ लाखलाई सेवा दिने गरी दर्ता भएको उद्योग निर्माणका लागि ७० करोड रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरेको छ ।

माउन्ट एभरेष्ट केवलकार

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा माउन्ट एभरेष्ट केवरकार निर्माण गर्ने भएको छ । कम्पनीले ६६ करोड लागतमा केवलकार निर्माण गर्ने गरी उद्योग विभागमा उद्योग दर्ता गरेको छ । कम्पनीले ११ लाख २० हजार जनालाई सेवा दिनेछ।


अरिष्मा मोक्तान