श्रीमतीको हत्या गरेर टाउको प्लास्टिकको झोलामा बोकेर चौकीतिर जाँदै गरेका श्रीमान् पक्राउ



सुर्खेत । श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा एक पुरुष पक्राउ परेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका– ३ स्थित तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आलेमगर श्रीमतीको हत्या गरेर प्रहरी चौकीतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३० वर्षीया मीना आलेमगरलाई हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरी झोलामा टाउको राखेर चौकीतर्फ जाँदै गरेको अवस्थामा श्रीमान् मगर पक्राउ परेका हुन् ।

टाउको प्लास्टिकको थैलोमा बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई पलाइटे स्वास्थ्यचौकी नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

मगर एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको उनले प्रहरीमा बयान दिएका छन् ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


क्लिकमान्डु