गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान चलाउनुपर्छः विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन् । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आउनुभएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शभकामना व्यक्त गरेका थिए ।

उनले आफू थापालाई सांसद् भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि आएको बताए । शर्माले महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने बताए ।

उनले भने– ‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बोल्न चाहिरहेको बुझिन्छ । कहीँ मानिसहरुको हृदयमा त्यो शब्द बन्न खोजिरहेको छ । र, एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ । त्यसकारण अहिले म यहाँनिर महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई शुरु गर्नलाई पनि म आएको हो । अब हामी दुई, तीन दिन भित्रमा देशभरीका साथीहरु सबै आ-आफ्नो क्षेत्रमा मतदाताहरुलाई सम्मान गर्ने, आभार प्रकट गर्ने कार्य गरिसकेर काठमाडौं उपस्थित हुन्छौँ । र उपस्थित भइसकेपछि यसलाई विधिवत, व्यवस्थित रुपमा परिणाममा पु¥याउने ढंगले सबै नेतृत्व पंक्तिलाई हाम्रा जो हुनुहुन्छ, सबै आदरणिय हुनुहुन्छ । सबै पाका नेताहरु जो हुनुहुन्छ सबैले देशका लागि योगदान गर्नुभएको छ । लोकतन्त्रका लागि योगदान गर्नुभएको छ । उहाँहरु सबैलाई सम्मान गर्दै, उहाँहरु सबैको विश्वास लिएर, उहाँहरु सबैको समर्थन लिएर, उहाँहरु कसैलाई पनि हामीलाई अपमान गरे भन्ने महशुस नगराइकन उहाँहरुले हाँकेर आएको देश र उहाँहरुले हाँकेर आएको काँग्रेसलाई अझ दृढताका साथ हाँक्ने भन्ने उद्देश्यका साथ छौँ ।’


क्लिकमान्डु