तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने



काठमाडौं । तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षा लिएपछि मात्र छोडिने जानकारी दिए ।

“काठमाडौँ उपत्यकामा हुने धेरै सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ, उपत्यकाभित्रको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेका हौँ”, उनले भने ।

ट्राफिक प्रहरीले यसअघि मादक पदार्थ सेवन गरेर चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्नेलाई मात्रै सचेतना कक्षा लिँदै आएको थियो ।

काठमाडौँ उपत्यकामा आव २०७८/७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ सवारी दुर्घटना भएको सो कार्यालयले जनाएको छ।

प्रवक्ता भट्टले चालू आवमा सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठीक नभएका तीन सय ५२ सवारीसाधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताए ।

ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको छ । उनले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउने एक सय ७० चालकलाई कारबाही गरिएको जानकारी दिए। जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक रहेका छन् ।(


क्लिकमान्डु