बीमा अभिकर्ताको परीक्षा बीमा कम्पनीहरुले नै लिन पाउने



काठमाडौं । बीमा अभिकर्ताको परीक्षा बीमा कम्पनीहरुले नै लिन पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै अभिकर्ताको परीक्षा लिने अधिकार दिएको हो ।

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, २०७९ कात्तिक २२ गतेदेखि कार्यान्वयनमा आएको छ ।

बीमा ऐन, २०४९ को दफा ९२ को उपदफा (२) मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था बमोजिम प्राधिकरणले अर्को निर्णय नभएसम्मको लागि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीहरुलाई नै प्रदान गरेको हो ।

समितिले विभिन्न सर्तसहित कम्पनीहरुलाई अभिकर्ताको परीक्षा लिन सक्ने अधिकार दिएको हो ।

प्राधिकरणकाअनुसार बीमा कम्पनीहरुले अभिकर्ताको परीक्षा लिँदा परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नु पर्नेछ ।

परीक्षाको अङ्कभार १०० तथा उत्तीर्णाङ्क ५० हुनुपर्ने शर्त प्राधिकरणले तोकेको छ । प्राधिकरणकाअनुसार प्रश्नहरु वस्तुगत हुनुपर्ने छ र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्नेछ ।

परीक्षा उत्तीर्ण गरेको प्राप्ताङ्क सहितको प्रमाणपत्र जारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्ने प्राधिकरणको भनाइ छ । यस्तै, परीक्षा सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्नु पर्ने लगायतका शर्तहरु प्राधिकरणले तोकेको छ ।

माथि उल्लेख गरिए बमोजिमका शर्तको अधिनमा रही बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

२०७९ कात्तिक २२ भन्दा अघि बीमा अभिकर्ताको तालिम प्राप्त गरी इजाजत प्राप्त नगरेका व्यक्तिको हकमा समेत उपरोक्त बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु