विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने



काठमाडौं । सर्वोच्च अदालतले नेपालमा विश्वकप फुटबल प्रशारण गर्न पाँच सय रुपैयाँ लिन बाटो खोलिदिएको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र डा मनोज कुमार शर्माको संयुक्त इजलासले विश्वकप देखाउँदा शुल्क लिन पाउने व्यवस्था गरिदिएको हो ।

यसअघि कात्तिक २२ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह रावतले विश्वकप देखाउनका लागि ५ सय रुपैयाँ लिनुको कारण पेस गर्न निर्देशन दिँदै तत्काल ५ सय रुपैयाँ नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।

अधिवक्ता किशोर पौडेलले मिडिया हबले विश्वकप देखाउँदा नियमविपरित थप ५ सय रुपैयाँ लिन लागेको भन्दै उक्त कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको अन्तरिम आदेशपछि मिडिया हबले अल्पकालीन अन्तरिम आदेश खारेजको माग गर्दै भ्याकेट निवेदन पेस गरेको थियो ।

उक्त निवेदनमा सुनुवाइ गर्दै कात्तिक २८ गते सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको इजलासले अग्राधिकार प्रदान गर्ने आदेश गरेको थियो ।

त्यसपछि आज भएको सुनुवाइमा मिडिया हबले थप शुल्क लिन नमिल्ने गरि कानूनी व्यवस्था नभएको भन्दै शुल्क लिन रोक्ने गरि आदेश जारी गर्नु पर्ने अवस्था नभएको सर्वोच्चले ठहर गरेको छ ।

नेपालमा विश्वकप देखाउँन मिडिया हबले अधिकार खरिद गरेको थियो ।


क्लिकमान्डु