नेपाल लाइफको नाफामा देखियो चामत्कारिक सुधार, प्रतिसेयर आम्दानी साढे ८ रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासको अवधिमा इन्स्योरेन्सले ७ लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको आम्दानी बढेसँगै नोक्सानीको लागि व्यवस्था गरेको रकम घटेका कारण खुद नाफा बढ्न पुगेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाको लागि १ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ ।

इन्स्योरेन्सले पहिलो त्रैमासको अवधिमा पुनर्बीमा कमिशन आयबाट ३२ लाख १२ हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ८९ करोड ६७ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाठ ८३ करोड २१ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको सोही अवधिमा इन्स्योरेन्सले पुनर्बीमा कमिशन आयबाट ६६ लाख २९ हजार, लगानी, कर्जा तथा अन्य आयबाट २० अर्ब २० करोड ४५ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ५९ करोड ८४ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले अभिकर्ता कमिशन शिर्षकमा ८३ करोड १५ लदाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा इनस्योरेन्सले यस शिर्षकमा ९९ करोड ६१ लाख ४ हजार रुपैयाँ खर्च गरेको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क १.९७ प्रतिशत बढेर ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, इन्स्योरेन्सले यस १ अर्ब ३२ करोड २ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको जगेडा कोष १२९.०४ प्रतिशत, जीवन बीमा कोष १९.६४ प्रतिशत र महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशतले बढेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८.५६ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु