सूर्या र ज्योति लाइफको साधारणसभा आज, मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन हुने



काठमाडौं । मर्जर प्रक्रियामा रहेका सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आज बसिरहेको छ । यी कम्पनीहरुबीच कात्तिक ४ गते मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

अन्तिम सम्झौता भएसंगै दुवै कम्पनीले कात्तिक २८ गते एकै दिन साधारण सभा बोलाएका हुन् । सूर्या लाइफले होटल हैरिसन प्यालेस, विराटनगर, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजेदेखि सभा शुरू हुने जनाएको छ ।

यस्तै, ज्योति लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरा –१८ कास्कीमा बिहान ११ बजेदेखि शुरु हुने छ ।साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन हुने कम्पनीहरूले जनाएका छन् । दुवै कम्पनीले मर्जर गर्ने सम्बन्धमा २०७९ असार १२ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बीमा समितिबाट २०७९ आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । अन्तिम सम्झौतापत्रमा उल्लेख भएअनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ । रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाण्डौंमा रहनेछ ।

मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्ने छ । भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ ।

नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् ।

सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको शेयर सूर्या लाइफका सेयरधनीले १ सेयर बराबर १ शेयर पाउनेछन् ।

भने ज्योति लाईफका सेयरधनीले १ शेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपातअनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी ४ अर्ब ५५ करोड पुग्नेछ । २०७९ मंसिर मसान्त भित्रमा एकीकृत कारोबार संचालन गर्ने सहमति समेत कम्पनीहरूले गरेका छन् ।


क्लिकमान्डु