सीईओको तलबमा करिब १ करोड खर्च गरेको सूर्या लाइफले कति दियो लगानीकर्तालाई लाभांश ?



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई करिब १ करोड रुपैयाँ तलब भत्ता दिएको छ ।

कम्पनीले उक्त आवमा सीईओलाई ९८ लाख ७८ हजार ७६५ रुपैयाँ तलब भत्ता बापत दिएको हो । इन्स्योरेन्सलेले सीईओ पवन कुमार खड्कालाई ४८ लाख ४५ हजार ९६८ रुपैयाँ र उक्त आवमा कात्तिक मसान्तसम्म शिवनाथ पाण्डेलाई ५० लाख ३२ हजार ८०२ रुपैयाँ तलब भत्ता दिएको छ ।

इन्स्योरेन्सले कम्पनीका संचालकलाई बैठक भत्ता बापत १७ लाख ३५ हजार तथा मासिक भत्ता वापत ६ लाख ६९ हजार ६६६ र लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता बापत ८ लाख ७२ हजार रुपैयाँ भूक्तानी गरेको छ । प्रवन्धक र सो भन्दा माथीका अन्य पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत २ करोड ९१ लाख ७१ हजार ४५० रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

कम्पनीले कर्मचारी तथा सञ्चालकलाई करोडौं रुपैयाँ खर्च गरेको भएपनि सेयर लगानीकर्ताको हात भने खाली रहेको छ ।
कम्पनीले यो वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले भोली (२८ गते)का लागि १४ औं बार्षिक साधारण सभा बोलाएको छ । सभामा ज्योति लाइफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने÷गाभिने प्रस्ताव रहेको छ । सभाका लागि असार १३ गते नै बुक क्लोज गरेको छ ।


क्लिकमान्डु