अबदेखि बीमा अभिकर्ताले एउटा मात्रै कम्पनीमा काम गर्न पाउने



काठमाडौं । अबदेखि बीमा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने भएका छन् ।

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, २०७९ लागूभएसँगै एउटा अभिकर्ताले कुनै एउटा मात्रै कम्पनीमा काम गर्न पाउने भएका हुन् ।

बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा ५ मा बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था गरिएको छ ।

यस्तै, बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई कम्पनीमा आवद्ध भएका बीमा अभिकर्ताहरुलाई स्वेच्छिक छनौट गराई कुनै एक मात्र बीमकको अभिकर्ता भई काम गराउन निर्देशन दिएको छ ।
साथै, सोको जानकारी गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

बीमा ऐनमा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ ।

तर, जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न पाउनेछन् ।

लघुबीमा सम्बन्धी कार्य गर्ने बीमा अभिकर्ताले भने १ भन्दा बढी बीमा कमपनीको लघुबीमा अभिकर्ता भई कार्य गर्न सक्नेछन् ।
यस्तै, ऐनको दफा ९१ को उपदफा ३ मा बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको अवधि ३ वर्षको हुने उल्लेख छ ।


क्लिकमान्डु