चर्को व्याजदर विरुद्ध उद्योग बाणिज्य महासंघ प्रदेश १ द्वारा आन्दालनको घोषणा



विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले बैंक तथा वित्तीय संस्थाहरूको चर्को व्याजदरविरुद्ध चरणवद्ध आन्दालनको घोषणा गरेको छ ।

महासंघले यही कात्तिक २२ गतेदेखि २८ गतेसम्मका लागि पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघ प्रदेश १ कार्यालयका कार्यकारी निर्देशक राधारमण भण्डारीले जारी गरेको विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरूको चर्को व्याजदरविरुद्ध चरणवद्ध आन्दालनको घोषणा गरेको जनाइएको छ ।

चर्को व्याजदरका कारण उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने असहज परिस्थति आएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

कार्यकारी निर्देशक भण्डारीका अनुसार यही कात्तिक १८ गते बसेको प्रदेश १ कार्यसमितिको बैठकले चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

जसअनुसार कात्तिक २२ गते प्रदेशभरिका जिल्ला प्रशासन कार्यालय र गाउँ/नगरस्थित बैंक तथा वित्तीय संस्थाहरूमा ज्ञापनपत्र बुझाउने र कात्तिक २३ गते बैंक तथा वित्तीय संस्थाहरूसँग कुनै पनि आर्थिक तथा वित्तीय कारोबार नगर्ने रहेको छ । सोही दिन बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध प्लेकार्डसहित मौन जुलुट्ठ गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, कात्तिक २५ गते प्रदेश १ का मुख्यमन्त्री कार्यालय र नेपाल राष्ट्र बैंकको प्रदेश १ कार्यालय अगाडि धर्ना दिने र त्यसै दिन ती दुवै कार्यालयमा चर्को बैंक व्याजदरका विरुद्ध ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कात्तिक २८ गते प्रदेश १ को प्रतिनिधि मण्डल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालयमा भेला भएर दबाव दिने कार्यक्रम तय भएको प्रदेश १ का निर्देशक भण्डारीले जानकारी गराएका छन् ।

महासंघ प्रदेश १ ले ती आन्दोलनका कार्यक्रमहरूमा जिल्ला, नगर बाणिज्य संघ तथा वस्तुगत संघका सबै पदाधिकारी र सदस्यहरूलाई सहभागी हुन पनि आह्वान गरेको छ ।


क्लिकमान्डु