सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस, अब के हुन्छ ?



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै छ । बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार भएको बहसमा पीडित बालिकाको तर्फबाट सरकारी वकिलसहितका ४ कानुन व्यवसायी र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए ।

सरकारी वकिलले सन्दीपले बलाकार गरेको दाबी गरेका थिए भने सन्दीपका वकिलले लामिछानेमाथि आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।

सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको भन्दै प्रमाण इजलाससमक्ष पेस गरेका थिए । उनीहरुले किशोरीको जन्मदर्ता, स्कूलमा भर्ना हुँदाका विवरणहरु लगायतका कागजपत्र पेस गरेका थिए ।

आज सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरुको सूचीमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लबप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारीलगायत छन् ।

सन्दीपका पक्षका कानुन व्यवसायीहरुको बहस सकिएमा बिहीबार नै थुनछेक आदेश जारी हुने सम्भावना रहन्छ । इजालासले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा छाडेर मुद्दाको सुनुवाइ गर्ने भन्ने आदेश जारी गर्ने छ ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।


क्लिकमान्डु