ट्विटरमा प्रमाणीकरणका लागि मासिक ८ अमेरिकी डलर 



एजेन्सी । ट्विटरमा प्रमाणीकरण (भेरिफिकेसन) सुविधाका लागि मासिक १९.९९ अमेरिकी डलर शूल्क लिने विषयमा आलोचना भएपछि कम्पनीका मालिक एलन मस्कले मासिक शूल्क कम गरेका छन् ।

मंगलबार मस्कले ट्विटरको सब्सक्रिप्सन सुविधाअन्तर्गतबाट प्रमाणीकरणका लागि मासिक ८ अमेरिकी डलर शूल्क लिने योजना भएको बताएका छन् ।

मस्कले ट्विटर किनेसँगै सुरुवातमा ट्विटर भेरिफिकेसनका लागि मासिक १९.९९ अमेरिकी डलर लिन सक्ने कुरा सार्वजनिक भएको थियो । त्यसपश्चात् उक्त शूल्क धेरै भएको भन्दै आलोचना भएको थियो ।

मस्कले शूल्क कम भएको जानकारी दिँदै ट्विटमा लेखेका छन्, ‘आगामी दिनमा पैसा दिनेहरूका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज हुने सुविधा, लामो अडियो, भिडियो पोस्ट गर्ने जस्ता सुविधा उपलब्ध हुनेछ ।’

उनले ट्विटरमा अहिले ठूला र सामान्य भन्ने प्रणालीमा नीलो चेकमार्क भएकाले त्यसलाई हटाउँदै मासिक शुल्कअनुसार बनाइने बताएका हुन् । उनका अनुसार यो शूल्क पनि देशअनुसार हुनेछ । 


क्लिकमान्डु