स्वास्थ्य बीमा गरेको कति समयपछि लागू हुन्छ सेवा र सुविधा ?



काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा प्रतिपरिवार वार्षिक ३५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सेवा पाउन सकिन्छ ।

स्वास्थ्य बीमा बोर्डले पाँच सदस्यीय परिवारलई एक युनिट मानेको छ । त्यो परिवारबाट बोर्डले वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क लिन्छ । त्योवापत उक्त परिवारलाई बोर्डले वार्षिक १ लाख रूपैयाँको सेवा उपलब्ध गराउँछ ।

यस्तै, ७ जनाभन्दा बढी सदस्य परिवार रहेको हकमा भने चाँही बोर्डले सो परिवारले अतिरिक्त रुपमा प्रतिपरिवार ७ सय रूपैयाँ तिर्यो भने त्यो परिवारले अतिरिक्त १ लाखभन्दा बाहेक २० हजार रूपैयाँ बराबरको सुविधा पाउँछन् ।

तर, स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार भने बीमा गर्ने वित्तिकै बीमाको सेवा, सुविधा लागू हुँदैन ।

बोर्डकाअनुसार बैशाखदेखि असार महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको भदौ एक गतेदेखि सेवा लिन सकिने व्यवस्था छ ।

साउनदेखि असोज महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको मंसिर एक गतेदेखि सूविधा लागू हुने बोर्डको भनाइ छ ।

यस्तै, बोर्डका अनुसार कात्तिकदेखि पुस महिनासम्म दर्ता वा नवीकरण भएमा सोही वर्षको फागुन एक गतेदेखि र माघदेखि चैत महिनासम्म दर्ता वा नविरकण भएमा अर्को वर्षको जेठ एक गतेदेखि सेवा सुविधा लागू हुने व्यवस्था छ ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गर्नका लागि भनेर हरेक वडामा दर्ता सहयोगी राख्ने गर्दछ । बोर्डले वडा अध्यक्षको संयोजकत्वमा दर्ता सहयोगी छान्ने गर्छ । बोर्डले छनौट गरेका दर्ता सहयोगी घर घरमा नै परिचालन हुन्छन् । ती दर्ता सहयोगीले हरेक नेपालीको घर-घरमा गएर तथ्यांक संकलन गर्ने काम गर्छन् ।

बोर्डमा आवद्ध भएका दर्ता सहयोगीहरूले घर-घरमा पुगेर ती व्यक्तिहरूलाई बीमाको दायरामा ल्याउन सहयोग गर्दछन् ।

दर्ता सहयोगीले संकलन गरेको तथ्यांकलाई बोर्डको अनलाइन प्रणालीमा राखिन्छ । त्यसपछि बीमित व्यक्तिहरूलाई कार्ड प्रदान गर्ने गर्छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउदैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

उपचार सुविधाका लागि बोर्डले स्वास्थ्यचौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ । बीमितले उपचारका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्यचौकी वा अस्पताल जानुपर्नेछ ।

बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बीमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा विस्तार भएको छ ।

२०७२ साल चैतदेखि पाइलट प्रोजेक्टका रूपमा शुरू भएको यस कार्यक्रम हालसम्ममा ५९ लाखभन्दा बढीको सहभागिता छ । स्वास्थ्य बीमाको दायरामा आएको जनसंख्या करीब २० प्रतिशत छ ।


क्लिकमान्डु