आयातमा लगाएको प्रतिबन्ध हटाउन सरकारलाई विश्व बैंकको सुझाव



काठमाडौं । विभिन्न वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध हटाउन विश्व बैंकले नेपाल सरकारलाई सुझाव दिएको छ ।

विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘नेपाल डेभलोपमेन्ट अपडेट’ प्रतिवेदनमार्फत नेपाल सरकारलाई विभिन्न वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध हटाउन सुझाव दिइएको हो ।

सरकारले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा असार मसान्तसम्म पूर्ण प्रतिबन्ध लगाएको थियो । भदौ १४ गते भने सरकारले कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको भन्दै सरकारले उक्त ४ वस्तुको आयातलाई रोकेको हो । मंसिर मसान्तसम्म मदिरा, ३ सय डलरभन्दा माथीका स्मार्ट फोन, १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकल तथा कार, जीप, भ्यानको आयात गर्न पाइने छैन ।

विश्व बैंकले सरकारले आयातमा यसरी लगाएको प्रतिबन्धलाई हटाउन औपचारिक रुपमा सुझाव दिएको हो । यसअघि पनि अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकले अनौपचारिक रुपमा यो सुझाव दिँदै आएका थिए । आईएमएफ र विश्व बैंकका अधिकारीहरुले अनौपचारिक रुपमा यो प्रतिबन्ध हटाउन भनेका थिए ।

औपचारिक रुपमा भने पहिलो पटक ‘नेपाल डेभलोपमेन्ट अपडेट’मार्फत विश्व बैंकले आयातमा लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई सुझाव दिएको हो ।


क्लिकमान्डु