नेकपा एसको घोषणापत्रः एनआरएनएलाई हाईड्रोमा लगानीगर्न प्रोत्साहित गर्ने, गरिब नेपालीलाई आईपीओ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सार्वजनिक गरेको घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने उल्लेख छ ।

घोषणापत्रमा आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने, त्यसका लागि स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपाली (एनआरएनए)लाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने उल्लेख छ ।

नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न एवं माग बमोजिम उर्जा प्रवाह नियमित गर्न जलाशयुक्त बहुउद्देश्यीय (जलविद्युत्, सिँचाई, खानेपानी, पर्यटन प्रवद्र्धन आदी) ठूला आयोजनाहरू निर्माणलाई प्राथमिकता दिने त्यसका लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराउने र स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकुल हुनेगरी अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्माणको जिम्मा दिन सकिने गरी नीति बनाउने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा विशेष आर्थिक क्षेत्रहरू तथा उद्योग ग्रामहरूका लागि डेडिकेटेड विद्युत लाइन जडान गर्ने र आत्मा निर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महशुलमा छुट दिने व्यवस्था मिलाउने उल्लेख छ ।

तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडानमा सहुलियत दिन पहल गर्ने उल्लेख छ ।


क्लिकमान्डु