कांग्रेसको घोषणापत्र: ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा, रकमको दायरा १० लाख पुर्‍याइने



काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा रकमको दायरा बढाएर १० लाख रुपैयाँ पुर्‍याइने घोषणा गरेको छ ।

मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले आधारभूत बाहेकका सबै स्वास्थ्य बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई पनि एकीकृत गर्दै स्वास्थ्य बीमामार्फत सञ्चालन गर्ने जनाएको छ ।

जसका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने कांग्रेसले सार्वजजिनक गरेको घोषणापत्रमा उल्लेख छ ।

हाल स्वास्थ्य बीमा गराएबापत अधिकतम २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सरकारले उपलब्ध गराउँदै आएको छ । उक्त बीमा रकमको दायरालाई बढाएर १० लाख पुर्‍याउने घोषणापत्रमा उल्लेख छ ।

‘बीमा रकमको दायरा बढाई १० लाख पुर्‍याइने छ । आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने छ’ घोषणापत्रमा भनिएको छ।

यस्तै, घोषणापत्रमा आगामी ५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमामार्फत गम्भिर प्रकृतिका रोगको उपचार सुनिश्चितता गरिने समेत उल्लेख छ ।

हाल सरकारले स्वास्थ्य बीमा कार्यक्रममा अति गरिबको परिचय पत्र प्राप्त, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी बिरामी भएका परिवारको योगदान रकममा शतप्रतिशत छुट दिने व्यवस्था तोकिदिएको छ ।

यस्तै, सरकारले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई पनि योगदान रकममा छुट व्यवस्था गरेको छ । महिला स्वास्थ्य स्वयंमसेविका भएको परिवारको हकमा भने योगदान रकमको ५० प्रतिशत छुटको व्यवस्था गरिदिएको छ ।

६५ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क बीमा गरिने घोषणापत्रमा भनिएको छ । यस्तै, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वंसेविकालाई निःशुल्क बीमा गरिने कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

कार्यक्रमअनुसार बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएका मध्ये कुनै पनि स्वास्थ्य संस्थाबाट बीमा भुक्तानी रकम ननाघ्ने गरी ओपीडी, इमर्जेन्सी, ल्याब, शल्यक्रिया, एक्सरे लगायतका उपचार सेवा पाउन सक्ने व्यवस्था छ ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गराएमा भने बीमाबापतको सेवा भने यस कार्यक्रममा उपलब्ध छैन ।


क्लिकमान्डु