एक वर्षभित्र राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने



काठमाडौं । राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको छ ।

राजपत्रमा प्रकाशित भएको बीमा ऐन, २०७९ लागू भएको १ वर्षभित्र राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको हो ।

हाल संस्थान राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम सञ्चालन हुँदै आएको छ ।

बीमा ऐन, २०७९ ले राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ खारेज गरेको छ ।

ऐनको दफा १७२ मा ‘राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र एक पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिनेछ’ उल्लेख छ ।

संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएपश्चात संस्थानका कर्मचारीहरू कम्पनीमा स्वतः परिणत हुनेछन् । संस्थानमा कायम रहेको चल अचल सम्पत्ति र दायित्व स्वतः कम्पनीको चल अचल सम्पत्ति र दायित्वको रूपमा परिणत हुनेछ ।

यस्तै, संस्थानबाट जारी भएका बीमालेख कम्पनीबाट जारी भएको बीमालेख मानिने व्यवस्था ऐनले गरेको छ ।

सरकारले बीमा ऐन, २०७९ राजपत्रमा प्रकाशित गरेको छ । असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेको ऐन गत साता राजपत्रमा प्रकाशित भएको हो ।

राष्ट्रपतिबाट स्वीकृत भएको ३१ दिन भित्र ऐन लागू हुने व्यवस्था छ । जसअनुसार बीमा ऐन कातिक २२ गते दखि लागू हुनेछ ।

संस्थानको हालको चुक्ता पुँजी १८ करोड १० लाख रूपैयाँ रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई चैतभित्र ५ अर्ब रूपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ ।

संस्थानले ५ अर्ब पुर्याउन हालको पुँजीमा ४ अर्ब ८१ करोड ८९ लाख रूपैयाँ रकम थप गर्नुपर्छ ।

संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत स्वामित्व छ ।

कम्पनीमा रूपान्तरण भएपश्चात संस्थानलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाटो खुल्ने छ । संस्थानले लगानी विविधिकरण गर्ने र आईपीओमार्फत चुक्ता पुँजी बढाउने भावी योजना बनाएको छ ।
२ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन संस्थानले सर्वसाधारणका लागि ३० प्रतिशत आइपीओ जारी गर्ने योजना बनाएको थियो ।

संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको अनुपात ३० प्रतिशत नै राख्ने वा सो अनुपाताई फेरबदल गरी ५१:४९ हुन सक्ने योजना समेत संस्थानको छ ।

महालेखापरीक्षकको ५९ औं प्रतिवेदनअनुसार संस्थानले विगत ९ वर्षदेखि लेखापरीक्षण गरेको छैन ।


क्लिकमान्डु