सूर्या र ज्योति लाइफले सूर्यज्योतिको नाममा मंसिरभित्र एकीकृत कारोबार गर्ने, सीईओमा खत्री



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एक आपसमा मर्ज सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

दुवै कम्पनीले मर्जर गर्ने सम्बन्धमा २०७९ असार १२ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बीमा समितिबाट २०७९ आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

अन्तिम सम्झौतापत्रमा उल्लेख भएअनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ ।

रजिष्टर्ड कार्यालय विराटनगर, मोरङमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ ।

मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्ने छ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ ।

नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् ।

सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

सेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको शेयर सूर्या लाइफका सेयरधनीले १ सेयर बराबर १ शेयर पाउनेछन् ।

भने ज्योति लाईफका सेयरधनीले १ शेयर बराबर ०.८२४५ सेयर पाउनेछन् । उक्त सेयर स्वाप अनुपातअनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी ४ अर्ब ५५ करोड पुग्नेछ ।

२०७९ मंसिर मसान्त भित्रमा एकीकृत कारोबार संचालन गर्ने सहमति समेत कम्पनीहरूले गरेका छन् ।

अन्तिम सम्झौता भएसंगै दुवै कम्पनीले साधारणसभा आह्वान गरेका छन् । कात्तिक २८ गते एकै दिन साधारण सभा बोलाएका हुन् ।

सूर्या लाइफले होटल हैरिसन प्यालेस, विराटनगर, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजेदेखि सभा शुरू हुने जनाएको छ।

यस्तै, ज्योति लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरा –१८ कास्कीमा बिहान ११ बजेदेखि शुरु हुने छ ।

साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन हुने कम्पनीहरूले जनाएका छन् ।

मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष २०.३६ अर्ब, जगेडा कोष १.४४ अर्ब, कुल लगानी २३.७८ अर्ब, खुद नाफा ३७.३७ करोड र कुल बीमाशुल्क ८.८६ अर्ब रूपैयाँ रहेको छ ।


क्लिकमान्डु