सिटिजन लाइफका बीमितले अधिकतम ७३ रुपैयाँसम्म बोनसदर पाउने



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो जीवन बीमाकोषको बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका जीवन बीमालेखमा प्रतिहजार अधिकतम ७३ रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो ।

कम्पनीले सो आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर जीवन बीमालेख)मा बीमा अवधिअनुसार न्यूनतम ४४ रुपैयाँ र अधिकतम ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमितले न्यूनतम २५ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम प्रतिहजार ३७ रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनसदर पाउने भएका छन् ।

उल्लेखित बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुने जनाएको छ ।

साथै, अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा समितिबाट अर्को व्यवस्था गन स्वीकृत नभएसम्मका लागि यही बोनसदर कामय हुने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु