शुक्रबारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोक्न अनुगमन हुने



काठमाडौं । वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण रोक्न माईकिङ तथा अनुगमन गर्ने भएको छ ।

तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए ।

उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत् सचेत गराएको बताए । उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए ।

घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको बताए । उनले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताए ।

उनले अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताए ।

उनले प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीवितरण गर्ने र प्रयोग गर्नेहरुको लागि बिहीवार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रबार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारी विभागको रहेको बताए ।

उनले सरकारले प्लाष्टिकजन्य फूलमालाहरु आयात गर्ने नै प्रतिवन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारीभन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने पनि बताए ।


क्लिकमान्डु