मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको ४ खर्ब ३० अर्ब लगानी, एक वर्षमा २६ प्रतिशतले बढ्यो



काठमाडौं । बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी बढाएका छन् । कम्पनीहरूले अघिल्लो आवको तुलनामा यस क्षेत्रमा २५.९५ प्रतिशतले लगानी बढाएका हुन् ।

गत आवमा ४१ वटा बीमा कम्पनीहरूले ५ खर्ब ५३ अर्ब २७ करोड रूपैयाँ कुल लगानी गरेका छन् ।

कुल लगानीमध्ये कम्पनीहरूले यस अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ खर्ब ३० अर्ब ७९ करोड ६१ लाख रूपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ७७.८६ प्रतिशत हो ।

जसमध्ये कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ६७.८३ प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८.९३ प्रतिशत, फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा कुल लगानीको १.०५ प्रतिशत र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ०.०५ प्रतिशत लगानी गरेका छन् ।

कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब ७५ करोड २९ लाख रूपैयाँ, विकास बैंकको मुद्दती निक्षेपमा ४९ अर्ब ४१ करोड ९२ लाख रूपैयाँ र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा ५ अर्ब ८३ करोड ४३ लाख रूपैयाँ लगानी गरेका छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीले ७७.०२ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूले ८१.५७ प्रतिशत लगानी गरेका छन् ।

अघिल्लो आवमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा कुल ३ खर्ब ४२ अर्ब ३ करोड ४३ लाख रूपैयाँ लगानी गरेका थिए । जुन कुल लगानीको ८०.९१ प्रतिशत हुन आउथ्यो ।

अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले यस क्षेत्रमा २ खर्ब ९० अर्ब ४९ करोड ५६ लाख रूपैयाँ लगान्ी गरेका थिए । यस क्षेत्रमा निर्जीवन बीमा कम्पनीको लगानी ५१ अर्ब ५३ करोड ८७ लाख रूपैयाँ थियो ।

अन्य क्षेत्रको तुलनामा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरिएको लगानी सुरक्षित हुने हुनाले कम्पनीहरू यसैतर्फ केन्द्रित हुने गरेको सरोकारवालाहरू बताउँछन् ।

बीमा समितिले बीमकको लगानी सम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

बीमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए । सोहीबमोजिम समितिले लगानी निर्देशिका नै जारी गरेको थियो ।

बीमा समितिद्धारा बीमकको लगानी निर्देशिका, २०७२ मा निर्जीवन तथा जीवन बीमा कम्पनीहरूले क वर्गको बैंकको मुद्दती निक्षेपमा र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

बीमितबाट संकलित बीमाशुल्कलाई कम्पनीहरूले उद्योग, व्यवसाय, बैंकको निक्षेपलगायत अन्य विभिन्न क्षेत्रमा लगानी गर्छन् । बीमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोत नै बीमितबाट संकलित रकम हो ।


क्लिकमान्डु