संस्थापक सेयरधनीलाई शतप्रतिशत पुँजी जम्मा गर्न आईएमई लाइफको आग्रह



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले थप रकम जम्मा गर्नुपर्ने भएको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूलाई सेयरमा लगानी भएको रकमको थप १०० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको पुँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम असोज २५ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाले चुक्ता पुँजी १०० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो ।

कम्पनीको उक्त निर्णयलाई बीमा समितिले स्वीकृत गरेसँगै कम्पनीले संस्थापक सेयरधनीहरूलाई आफ्नो नाममा हाल कायम कुल सेयर बराबरको थप रकम लगानी गर्न आग्रह गरेको हो ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले कंसिर ५ गतेभित्र रकम जम्मा गरिसक्नु पर्ने छ । लगानीकर्ताहरूले सिद्धार्थ बैंक हात्तिसार र नबिल बैंक तीनधारामा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रूपैयाँ छ । संस्थापकमार्फत १०० प्रतिशत रकम थप गरेसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रूपैयाँ पुग्ने छ ।

सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) जारी नगरेका अन्य जीवन बीमा कम्पनीहरूले पनि संस्थापकबाट रकम थप गरेका छन् ।

सिटिजन लाइफले संस्थापक सेयरधनीबाट थप ५० प्रतिशत, रिलायबल नेपाल लाइफले ६० प्रतिशत र महालक्ष्मी लाइफले पनि ५० प्रतिशत रकम माग गरेका थिए ।

बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरूलाई ५ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ ।


क्लिकमान्डु