आचारसंहिता विपरित लाइसेन्स वितरण गर्न लागेको भन्दै सेबोनसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँगस्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको समयमा सेबोनले स्टक एक्सचेञ्ज, सेयर ब्रोकर , कमोडिटी एक्सचेञ्ज, ब्रोकर शाखा, विशिष्टीकृत लगानी कोष व्यवस्थापक, क्रेडिट रेटिङ कम्पनी लगायतको लाइसेन्स दिन लागेको आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो ।

सेबोनले निर्वाचन आचार संहिता विपरित लाइसेन्स दिन आवेदन माग गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले आयोगमा उजुरी गरेको थियो । उक्त उजुरीका आधारमा आयोगले शुक्रबार सेबोनसँग स्पष्टीकरण सोधेको हो ।

आयोगले सेबोनलाई पठाएको पत्रमा ‘निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडी बढेको छ, छैन ?’ स्पष्ट पार्न भनेको छ ।

,‘लाइसेन्स वितरण प्रक्रिया अगाडी बढेको भए निर्वाचन आचार संहिता विपरितको उक्त कार्य किन रोक्नु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले ३ दिन भित्र स्पष्ट जवाफ पेश गर्नु होला,’ आयोगले सेबोनलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था छ ।

आयोगले असोज १२ गते देखि निर्वाचन आचारसंहिता लागु गरेको छ । नेपाल धितोपत्र बोर्डले गत असोज २ गते स्टक ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण गर्न सूचना प्रकाशित गरेको थियो ।

बीमा समितिसँग पनि सोधियो स्पष्टीकरण
निर्वाचन आयोगले शुक्रबार नै बीमा समितिसँग पनि स्पष्टीकरण सोधेको छ । समितिले लघु बीमाको लाइसेन्स वितरण गर्ने योजना बनाएको भन्दै आयोगमा उजुरी परेपछि बीमा समितिसँग स्पष्टीकरण सोधिएको हो ।

आयोगले समितिलाई निर्वाचन आचारसंहिता लागेको अवस्थामा लघु बीमाको लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडी बढेको छ, छैन ?’ स्पष्ट पार्न भनेको छ ।

आयोगले लघु बीमाको लाइसेन्स वितरण गर्ने प्रक्रिया अगाडी बढेको भएपनि निर्वाचन आचार संहिता विपरितको उक्त कार्य किन रोक्नु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्ट जवाफ पेश गर्नु बीमा समितिलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु