कर्जा तिर्न र नयाँ स्टकमा लगानी गर्न खेतानले बेचे हिमालयन एभरेष्टको साढे २२ करोडको संस्थापक सेयर



काठमाडौं । एकै दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँको ८ लाख १६ हजार २८२ कित्ता संस्थापक सेयर कारोबार भएको छ ।

दशैंपछिको पहिलो कारोबारमा इन्स्योरेन्सको उक्त रकमको संस्थापक सेयर ४९, ५८ र २८ नम्बर ब्रोकरबाट बिक्री हुँदा ४९, ५७ र ४२ नम्बर ब्रोकरबाट खरिद भएको छ ।

सबैभन्दा बढी ४९ नम्बरको ब्रोकरबाट खरिद र ४९ नम्बर ब्रोकरबाट बिक्री भएको छ । स्रोतका अनुसार आइतबार इन्स्योरेन्सको संस्थापक सेयर राजेन्द्र खेतानले बिक्री गरेका हुन् ।

पछिल्लो समय खेतानले विभिन्न कम्पनीबाट आफ्नो र परिवारको नाममा भएको सेयर धमाधम बिक्री गरि सेयर धितो कर्जा तिर्न र नयाँ स्टकको सेयर किन्न लागेका छन् ।

खेतानले दशैंअघि लक्ष्मी बैंकको करिब साढे ३५ लाख कित्ता सेयर २५ करोड भन्दा बढी रकममा बिक्री गरेका थिए । उनले उक्त समयमा पनि बैंकको सेयर ४९ नम्बर ब्रोकरबाट कारोबार गरेका थिए । खेतानले यसअघि बैंकको मात्रै नभएर हिमालयन एभरेष्ट इन्स्योरेन्समा भएको आफ्नो करिब ४ लाख कित्ता संस्थापक सेयर बिक्री गरिसकेका छन् । त्यो समयमा पनि उनले ४९ नम्बर ब्रोकरबाट नै कारोबार गरेका थिए ।

आज आइतबार हिमालय एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँको कारोबार हुँदा ५८ नम्बर ब्रोकरबाट बिक्री भएको १ हजार कित्ता संस्थापक सेयर ५७ नम्बर ब्रोकरबाट खरिद भएको छ भने २८ बाट बिक्री भएको सेयर ४२ ले २० कित्ता सेयर खरिद गरेको छ । जसको रकम क्रमशः २ लाख ७९ हजार र ५ हजार ६९४ रुपैयाँ रहेको छ । बाँकी २२ करोड ६६ लाख ९७ हजार ५० रुपैयाँको सेयर ४९ नम्बर ब्रोकरबाट खरिद र बिक्री भएको छ । यो सेयर खेतानको भएको बताइएको छ ।

गत साउन १ गतेबाट एकीकृत कारोबार गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर एकै दिन २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँको कारोबार हुँदा कारोबार रकमको आधारमा कम्पनी अग्रस्थानमा रहेको छ ।

खेतान तथा उनका परिवारका सदस्यको नाममा एभरेष्ट इन्स्योरेन्समा ठूलो हिस्सा सेयर रहेको छ । आर्थिक वर्ष २०७७/०७८ सम्म राजेन्द्र कूमार खेतानको एभरेष्ट इन्स्योरेन्सका १७ करोड ७३ लाख २ हजार २०६ रुपैयाँको (१४.९८ प्रतिशत) सेयर रहेको थियो ।

यस्तै स्नेहा खेतानको नाममा १७ करोड ६६ लाख ५९ हजार १०० रुपैयाँको (१४.९३ प्रतिशत), पुजा अग्रवाल खेतानको नाममा २ करोड १६ लाख १८ हजार २०० रुपैयाँको (१.८३ प्रतिशत) सेयर स्वामित्व रहेको छ । अहिले एभेष्ट र हिमालयन इन्स्योरेन्स मर्जरमा गएर साउन १ गतेबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ ।


क्लिकमान्डु